भदौ १९ मा थपियो ‘चंगुल’

काठमाडौं । चलचित्र ‘चंगुल’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

मालती कार्कीको निर्माण र राम गौतमको निर्देशनमा तयार भएको यो चलचित्र आगामी भदौ १९ गते बाट प्रदर्शनमा आउने भएको हो ।

यो मितिमा अन्य तीन चलचित्र ‘बाः एक योद्धा’, ‘एलिफेन्ट्स इन द फग’ र ‘ककाकिकी’ले यसअघि नै रिलिज मिति घोषणा गरि सकेका छन् ।

‘चंगुल’ले विशेष गरी वर्तमान समयको ‘जेनजी’ पुस्ताको सोच र उनीहरूले समाज परिवर्तनका लागि गरेको सङ्घर्षलाई मुख्य विषयवस्तु बनाएको छ ।

देशमा व्याप्त भ्रष्टाचारका कारण थिलथिलो भएको प्रशासनिक र राजनीतिक अवस्था र त्यसले आम नागरिकमा पारेको असरलाई चलचित्रमा मार्मिक ढंगले उतारिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको प्रदर्शन मिति तय गर्नुको पछाडि एउटा विशेष सन्दर्भ रहेको निर्माता मालती कार्कीले जानकारी दिएकी छिन् । गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलन र सोही क्रममा ज्यान गुमाउने ‘जेनजी’ आन्दोलनका सहिदहरूको सम्मान र सम्झना स्वरूप भदौ १९ गतेलाई प्रदर्शनको लागि रोजिएको उनले बताइन् ।

“यो चलचित्र केवल मनोरञ्जन मात्र नभएर एउटा आन्दोलनको दस्तावेज पनि हो,” कार्कीले भनिन् ।

चलचित्रमा रबी कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिम्सिना, राकेश कुमार राई, आशा बि सी, स्वस्तिका लामिछाने लगायतको मुख्य भूमिका रहेको छ । बाल कलाकारको रूपमा रिम्शा कार्कीले अभिनय गरेकी छिन् ।

चलचित्रमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत रहेको छ । देव महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई दीपेन्द्र बस्न्यातले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।