सर्वाधिक कमाउने ‘लालीबजार’, सबैभन्दा कम कमाउनेमा ‘जाँड’

काठमाडौं । यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये हालसम्म बक्सअफिसमा सबैभन्दा कमजोर ‘जाँड’ देखिएको छ । ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल सिनेमा बन्दा अभिनेता रमेश उप्रेती अभिनित चलचित्र ‘जाँड’ वर्षकै सबैभन्दा कमजोर सिनेमा देखिएको छ ।

बक्सअफिस तथ्यांक अनुसार असार २१ गते आइतबारसम्मको रिपोर्टमा ‘लालीबजार’ ले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । देशभरका हलहरूमा यो चलचित्रका ३ लाख १७ हजार १२ वटा टिकट बिक्री भएका छन् ।

यस वर्ष हालसम्म बक्सअफिसमा सबैभन्दा कमजोर ‘जाँड’ देखिएको छ । १० दिनमा यसलले १ लाख १६ हजार ६४५ रुपैयाँ मात्र ग्रसकलेक्सन गरेको छ । अभिनेता रमेश उप्रेतीलगायत कलाकार यो चलचित्रमा छन् । जम्मा ५६९ वटा टिकट मात्र बिक्री भएको छ ।

‘रोल नं. १’ ले आइतबारसम्म १ करोड ७४ लाख ८५ हजार ६५८ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो सिनेमा ६९ हजार १६६ जनाले हेरेका छन् ।

हास्य कलाकार जितु नेपाल निर्माता र हिरो रहेको ‘आई एम जितबहादुर’ले ३१ लाख ३६ हजार ११२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रका ९ हजार ७४२ वटा टिकट बिक्री भएका छन् ।