‘पार्वती’को डबिङ गर्दै दीपाश्रीले भनिन्– पटकथाले मन छोयो
काठमाडौं । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’को हाल धमाधम डबिङ भइरहेको छ । चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् ।
डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभव समेत उनले साटेकी छन् ।
अभिनेत्री दीपाश्रीलाई डबिङ गराइरहेकी यस फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि उत्तिकै उत्साहित देखिएकी छन् । आफूले कल्पना गरेभन्दा राम्रो फिल्म बनिरहेको भन्दै उनले दीपाश्री लगायत सम्पूर्ण टिमप्रति आभार प्रकट गरेकी छन् ।
‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ ।
हरिहर अधिकारी निर्माता रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका छन् । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन् ।
सुदीप बरालको छायांकन र साहिल खानको सम्पादन छ ।

