सञ्चालनमा आयो गुण सिनेमा हल, १,४२५ सिट क्षमताको हलको व्यवस्थापन क्यूएफएक्सलाई
काठमाडौं । अन्ततः गुण सिनेमा हल सञ्चालनमा आएको छ । लिलितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल आजबाट सञ्चालनमा आएको हो ।
यो हलमा पहिलोपटक नेपाली सिनेमा ‘गौँथली’ रिलिज हुने भएको छ । यो सिनेमालाई गुण सिनेमामा तीनवटा शो दिइएको छ ।
केही वर्ष अगाडि रिनोभेट गर्ने भन्दै बन्द भएको हल आजबाट सञ्चालनमा आएको हो । आठवटा स्क्रिनमा एकै पटक करिब एक हजार ४२५ दर्शकले फिल्म हेर्न सक्न छन् ।
गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार यो हलको व्यवस्थापनको जिम्मा क्यूएफएफएक्सले लिएको छ ।
प्रत्येक हलमा प्रिमियम सोफा सिट, फुल्ली एयर कन्डिसन, लक्जरी लवि सञ्चालनमा छ । एक हलमा अधिकतम २६० सिट क्षमता रहेको छ ।
हलमा जीडीसी डिजिटल सिनेमा सर्भर, बेल्जियममा निर्मित पल्ज तथा जेबीएल ध्वनि प्रणाली, डीटीएसस्एक्स त्रिआयामिक ध्वनि प्रविधि र एआईबी ३००० इमर्सिभ ध्वनि प्रोसेसर जडान गरिएको छ । यो प्रणालीले दर्शकलाई चारैतिरबाट ध्वनि आइरहेको अनुभूति गराउँदै उच्चस्तरीय सिनेमा अनुभव प्रदान गर्छ ।
विं.सं. २०५२ सालमा स्थापना भएर सञ्चालनमा रहेको सिनेमा हलमा यसअघि तीन हजार ८०० सिट क्षमता थियो ।
दरबारमार्गमा गुण ग्रुपको दरबारमल सञ्चालनमा रहेको छ । उक्त दरबार मलभित्र प्रिमियमय फिल्म हल दरबार सिनेम्याक्स सञ्चालनमा छ ।


