चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा, ‘आउट ल’ अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने
काठमाडौं । चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
इस्ट–वेस्ट इन्टरटेनरस र स्याडो पिक्चर्सको पस्तुति रहने ‘बम्पर चिठ्ठा’लाई बिक्की महर्जनले निर्देशन गर्नेछन् । अमित अग्रहरि र निशा गुइदे निर्माताका रूपमा रहनेछ ।
थिम पोस्टरले ठूलो सहरको मन्दिरमा बसेर तल सडकमा रमिता हेरिरहेको जस्तो धमिलो दृश्य देखिन्छ । बसन्तपुर, पाटन अथवा भक्तपुर दरबार स्क्वायरजस्तै देखिने लोकेसन पोस्टरमा देखिएको छ । तर, विशाल मन्दिरमा रहेको भीड केका लागि हो प्रस्ट छैन ।
तर, निर्देशक महर्जनले नेपालको सांस्कृतिक पक्षलाई यो सिनेमामार्फत हेर्न सकिने बताएका छन् । “बम्पर चिट्ठा नेपाली कथा र संस्कृतिमा आधारित रहेर बन्नेछ । आफ्नो मौलिकता कायम राख्दै अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने हाम्रो उद्देश्य रहनेछ,” उनले भने ।
यो चलचित्र नेपालीसँगै हिन्दी, तेलगु र फ्रेन्च भाषामा पनि बन्नेछ । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुनेछ । चारवटा भाषामा बन्ने र अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने जानकारीले यो निर्माण टिमको ड्रिमिङ प्रोजेक्ट रहेको भने प्रस्ट भएको छ ।
चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
यो चलचित्र ‘आउट ल : दफा २१९’ निर्माण टिमले बनाउन लागेको हो । चलचित्र ‘आउट ल’ सेप्टेम्बरमा अमेजट प्राइम भिडियोमा रिलिज हुनेछ ।
‘आउट ल’को प्रदर्शनपछि ‘बम्पर चिठ्ठा’ निर्माणको काम तीव्र गतिमा अघि बढाइने निर्माण टिमले जानकारी दिएको छ ।
“अहिलेलाई हामीले कमेडी जनरको सिनेमा घोषणा गरेका छौँ । कथा र कलाकारबारे पछि जानकारी दिनेछौँ,” निर्देशक महर्जनले भने, “नेपाली सिनेमा उद्योगमा कमेडी जनरमा केही फरक काम भने हामी यो चलचित्रमार्फत देखाउने प्रयासमा छौँ ।”
यो सिनेमालाई विश्वव्यापी रुपमा देखाउनका लागि चार भाषामा निर्माण गरिने र अमेजन प्रायम भिडियोमा रिलिज गरिने उनले बताए । २४० भन्दा धेरै देशमा नेपाली सिनेमा पुर्याउने उनले बताए । यसले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहुँचलाई थप बढाउने उनको विश्वास छ ।


