बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोषको एन्ट्री
काठमाडौं । युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।
सोमबार निर्माण पक्ष र कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरिएको थियो ।
रोचक कुरा के छ भने, सन्तोष र रियान दुवैले चलचित्र ‘होस्टेल ३’ बाट एकैसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका कलाकार हुन् ।
रङ्गमञ्च, म्युजिक भिडियो र टेलिसिरियलको लामो अनुभव बटुलेर ठूलो पर्दामा प्रवेश गरेका सन्तोष बानियाँका लागि ‘ल्याङ्ग ल्याङ्ग’ विशेष हुने देखिएको छ । ‘होस्टेल ३’ पछि उनले ‘गोबर गणेश’ र ‘कस्तुरी’ जस्ता चलचित्रमा काम गरिसकेका छन् ।
यसअघिका चलचित्रहरूमा सहयोगी भूमिकामा देखिँदै आएका सन्तोषलाई यसपटक भने निर्देशक चौहानले ‘लिडिङ क्यारेक्टर’को रूपमा प्रस्तुत गर्न लागेका हुन् । बानियाँको अभिनय क्षमता र चरित्रमा भिज्न सक्ने खुबीका कारण उनलाई मुख्य भूमिकामा छनोट गरिएको निर्माण पक्षको दाबी छ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’, एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् । चलचित्रले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने बुझिएको छ ।
निर्देशक चौहानले केही समयअघि सार्वजनिक गरेको थिम पोस्टरमा लेखिएको थियो, ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ । यस वाक्य र पोस्टरको चित्रणले चलचित्रमा प्रेम, धोका र त्यसपछिको मानसिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको संकेत गर्छ ।
गत वर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका बलिराम चौहानले सो चलचित्रबाट समीक्षकको राम्रो साथ पाएका थिए । यद्यपि, निर्वाचनको समय र राजनीतिक माहोलका कारण उनको पहिलो चलचित्रले व्यावसायिक सफलता पाउन कठिन भएको थियो । सोही अनुभवलाई शक्तिमा बदल्दै चौहान अहिले ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत दर्शकको मन जित्ने तयारीमा छन् ।
चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । अहिले चलचित्रको प्रि-प्रोडक्सन र कास्टिङको काम तीव्र रूपमा भइरहेको छ ।
निर्देशक चौहान भन्छन्, “अहिले हामी कलाकार र प्राविधिक टिमलाई पूर्णता दिने क्रममा छौँ । केही स्थापित र केही प्रतिभावान नयाँ अनुहारहरूसँग कुरा भइरहेको छ । छिट्टै हामी सम्पूर्ण टिमको औपचारिक घोषणा गरेर छायांकनमा निस्कनेछौँ ।”


