म्युजिक भिडियोमार्फत अभिनेत्री मौसमी मल्लको कमव्याकको प्रयास
काठमाडौं । म्युजिक भिडियोमार्फत अभिनेत्री मौसमी मल्लले कमव्याकको प्रयास गरेकी छन् । मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन् ।
नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमीलाई देख्न सकिन्छ । गोविन्द राईको निर्देशनमा निर्माण भएको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ ।
नेपालको इतिहास बोकेको विभिन्न पात्रमा उनी गीतको भिडियोमा प्रस्तुत भएकी छन् ।
२०४५ सालमा ‘भाग्यरेखा’ बाट अभिनय यात्रा थालेकी मौसमी आफ्नो समयकी चर्चित अभिनेत्री हुन् । केही समय विदेश बसेर फर्केकी उनले ७० भन्दा बढी सिनेमामा अभिनय गरिसकेकी छन् । करिअरको उत्कर्षमा रहँदा उनले ‘गिरफ्तार’ र ‘समय’ नामक दुई चलचित्रको निर्माण पनि गरिन् ।
एक समय चलचित्रमा भ्याइनभ्याइ हुने गरेकी मौसमी पछिल्लो पटक ‘कारखाना’मा देखिएकी थिइन् ।
मौसमीले गीतको भिडियोमार्फत आफू दर्शकमाझ आएको बताएकी छन् । उनले भनिन्, “म नीता आचार्यको युट्युब च्यानलमार्फत गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’भिडियोमार्फत आएको छु । हेरेर प्रतिक्रिया दिनु होला ।”
उनले सामाजिक सञ्जालफेसबुकमार्फत नै आफू नेपालमा रहेको समेत जानकारी दिएकी छन् ।


