मुभिज डिजिटेनमेन्टले किन्यो ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार

काठमाडौं । चलचित्र ‘अक्षरा’को डिजिटल अधिकार बिक्री भएको छ । विनयराज पौडेलको निर्देशनमा बनेको यो सिनेमाका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टले खरिद गरेको हो ।

सम्झौताअनुसार आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’का सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन् । दर्शकहरूले अब चलचित्रका गीत, ट्रेलर तथा सम्पूर्ण सामग्री यस युट्युब च्यानलमा हेर्न पाउनेछन् ।

चलचित्रको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको छ ।

चलचित्र ‘अक्षरा’लाई लिएर निर्माण टोली निकै उत्साहित देखिएको छ । ब्लकबस्टर सिनेमा ‘१२ गाउँ’की अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौलाको मुख्य भूमिका रहेको छ ।

यस चलचित्रमा न्यान्सी र सुशीलका अलावा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी,अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन् ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको छ ।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् ।

यस चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन् ।

यस चलचित्र मा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत, अन्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल, एसडी योगीको स्वर, दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।