अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
एपी । सन् २०२१ को ‘गडजिल्ला भर्सेस कङ’ र २०२४ को ‘गडजिल्ला एक्स कङ: द न्यु एम्पायर’ मा अभिनय गरेर चर्चामा आएकी बहिरा अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन भएको छ ।
स्थानीय समयअनुसार मंगलबार बिहान अमेरिकाको मेरील्याण्डमा भएको दुर्घटनामा १८ वर्षकी उनको ज्यान गएको हो ।
बिहान ३ बजेअघि इजाम्सभिलमा कार सडकबाट खसेर कल्भर्टमा ठोक्किँदा उनी कारमा सवार दुई यात्रुमध्ये एक थिइन् । फ्रेडरिक काउन्टी शेरिफको कार्यालयका अनुसार चालकलाई स्थानीय अस्पताल लगिएको थियो भने अर्का यात्रुले उपचार लिन अस्वीकार गरेका थिए । अत्यधिक गति नै दुर्घटनाको मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, घटनाको पूर्ण अनुसन्धान भइरहेको छ ।
हटल विद्यार्थीको रूपमा अध्ययनरत टेक्सस स्कुल फर द डेफले पनि सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस दुःखद खबरको पुष्टि गरेको छ ।
हटल अमेरिकी सांकेतिक भाषा (एएसएल) की मातृभाषी थिइन् । उनका परिवारका अन्य सदस्यहरू पनि बहिरा छन् । केली हटलको निधनको खबर उनका आमाबाबुले सामाजिक सञ्जालमार्फत भावुक भिडियो सन्देश साझा गरेका छन् ।
‘केलीकी आमा र चार जना भाइबहिनीहरू शोकाकुल छन्,’ बुबाले विमानस्थलबाट पोस्ट गर्दै सांकेतिक भाषामै भने, ‘तिनीहरू घरमा सँगै छन् र शोक मनाइरहेका छन् । म केलीको शव घर फिर्ता ल्याउन मेरील्याण्ड जाँदैछु ।’
दुर्घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा हटलको मुटु रोकिएको थियो । बुबाले भने, ‘हामीले सँगै बिताएका १८ वर्षका लागि हामी धेरै आभारी छौं । तर हामीसँग अझै धेरै समय भएको भए हुन्थ्यो ।’
उनका बुबाले चालकसँग पनि सम्पर्क गरेका थिए । शेरिफ कार्यालयले चालकलाई १९ वर्षीय फ्रेडरिक काउन्टीका युवकको रूपमा पहिचान गरेको छ । बुबाले चालकलाई भने, ‘मैले तिमीलाई माफ गरिसकेको छु । यो घटनाले तिम्रो बाँकी जीवन बर्बाद नपार ।’
‘मलाई अझै पनि लाग्छ कि केली हामीसँगै छिन्,’ उनकी आमाले सांकेतिक भाषामार्फत भावुक हुँदै भनिन् ।
केली हटलले ‘गडजिला भर्सेस कङ’ र यसको सिक्वेल ‘गडजिला एक्स कङ: द न्यू एम्पायर’ मा जिया नामकी अनाथ केटीको भूमिका निर्वाह गरेकी थिइन् । उनको चरित्रले कङसँग विशेष सम्बन्ध बनाउँदै सांकेतिक भाषा प्रयोग गरेर कुराकानी गर्थिन् ।
यो खबर सुनेपछि उनको ‘गडजिला’ सह-कलाकार मिली बबी ब्राउनले इन्स्टाग्राममा लेखिन्, ‘यो सुनेर म धेरै निराश भएँ। केली, तिमीलाई धेरै याद आउनेछ ।’
सन् २०२१ मा पप संस्कृति वेबसाइटसँगको कुराकानीमा सह-कलाकार अलेक्ज्याण्डर स्कार्सगार्डले केलीको व्यावसायिकता र निर्देशन छिटो आत्मसात् गर्ने क्षमताको प्रशंसा गरेका थिए । सन् २०२४ मा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हटलले ‘गडजिला’ मा काम गर्नुअघि राक्षस चलचित्रहरू नहेरेको र बुबाले यो विधा बुझ्न सहयोग गरेको बताएकी थिइन् ।
उनी भन्थिन्, ‘म धेरै मानिसलाई सम्मान गर्छु, तर सबैभन्दा धेरै सम्मान मेरो आमाबाबु र दिदीबहिनीलाई गर्छु ।’
पहिलो फिल्मपछि आफ्नो सामान्य जीवनमा फर्कन सकिन्छ कि भनेर उनी अलिकति चिन्तित पनि थिइन् । ‘मानिसहरूले मलाई स्कुलमा चिन्थे, तर यो मैले सोचेको जस्तो खराब छैन,’ उनले भनेकी थिइन् ।
हटल यसअघि सन् २०२१ को ‘म्याग्नम पीआई’ टेलिभिजन एपिसोडमा पनि देखिएकी थिइन् । उनी आगामी फिल्म ‘ह्वाट डजन्ट किल अस’ मा पनि अभिनय गर्ने तयारीमा थिइन् ।
बहिरा अभिनेत्री अलाक्वा कोक्सले इन्स्टाग्राममा लेखिन्, ‘म धेरै दुखी छु । यो अकल्पनीय समयमा मेरो मन उनको परिवारसँग छ ।’
ओस्कर विजेता मार्ली म्याटलिनले लेखिन्, ‘प्यारी केली हटलको निधनले म अत्यन्त मर्माहत छु । उनको सुन्दरता र प्रतिभा सधैं स्मरणीय रहोस् ।’
‘कोडा’ फिल्मका ओस्कर विजेता ट्रोय कोट्सुरले पनि हटलको मृत्युले आफ्नै छोरीको याद दिलाएको बताएका छन् ।
अस्टिनको टेक्सास स्कूल फर द डेफका अधिकारीहरूले फेसबुकमार्फत हटलको निधनको घोषणा गर्दै सहपाठी र साथीहरूका लागि परामर्श तथा समर्थन सेवा उपलब्ध रहेको जानकारी दिएका छन् ।


