मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
काठमाडौं । नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरको पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गर्दै योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ ।
महिला सशक्तीकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा प्रतिभा प्रदर्शनको सशक्त मञ्चका रूपमा स्थापित मिसेस नेपाल वर्ल्डले एक दशकदेखि नेपाली विवाहित महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय स्तरको बनाइने जानकारी दिए । उनले भने, “मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, नेपाली महिलाको नेतृत्व, क्षमता, आत्मविश्वास र सामाजिक योगदानलाई विश्वसामु प्रस्तुत गर्ने अभियान हो। हामी यस संस्करणलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रतिबद्ध छौंँ ।”
उनका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटेलमा गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन । न्यूनतम एसईई वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले देश विदेशबाट आवेदन दिन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्ट प्रालिको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ ।
मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।


