नाजिर हुसेनको गुनासो– नामकै कारण म माथि भारतको एयरपोर्टमा पटकपटक अनावश्यक सोधपुछ हुन्छ
काठमाडौं । अभिनेता नाजिर हुसेनले आफू मुस्लिम भएकै कारण भारतको एयरपोर्टमा पटकपटक अनावश्यक सोधपुछमा पर्ने गरेको बताएका छन् ।
नाजिरले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि बिनाकारण पटकपटक केरकार र सोधपुछ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
आफ्नो नाममा जोडिएको मुस्लिमको पहिचानकै कारण भारतीय एयरपोर्टमा सेक्युरिटीमा अनावश्यक दुःख दिने गरेको उनको अनुभव छ ।
भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शनमा सहभागी भई नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले आफूलाई विशेष कक्षमा लगेर अनावश्यक प्रश्न सोधेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
नाजिरका अनुसार उनीसँगै यात्रा गरिरहेका निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीलाई सामान्य जाँचपछि जान दिइए पनि उनलाई भने छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको थियो । सुरक्षाकर्मीले “नेपाल किन गइरहेको?” र “कति पैसा छ?” जस्ता प्रश्न सोधेको उनले उल्लेख गरेका छन् ।
आफ्नो पूरा नाम मोहम्मद नाजिर हुसेन भएकाले नाम वा पहिचानका कारण बारम्बार यस्तो सास्ती भोग्नुपरेको हुन सक्ने शङ्का व्यक्त गर्दै उनले भनेका छन्, “यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु र विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो सरासर गलत हो । यदि होइन भने मैले यसको स्पष्ट कारण थाहा पाउनुपर्छ।”
नाजिर लेख्छन्–
सेक्युरिटी : नेपाल क्युँ जा रहे हो ?
मः आई एम गोइङ ब्याक होम ।
सेक्युरेटी : कितना पैसा है आपके पास ?
म : आई ह्याव नो इन्डियन करेन्सी विथ मि ।
“अनि मैले इन्डिया किन गएको सबै भने । मैले पैलेझैँ यसपटक पनि सोधेँ, मलाई किन विशेष सेक्युरीटीमा ल्याइयो र यो सबै प्रश्न सोधियो ? जवाफमा कोही बात नहीँ आयो,” नाजिर लेख्छन्, “तर, यो मेरो प्रश्नको जवाफ होइन । यदि, कोई बात नहीँ सो ह्वाई ?”
उनले आफ्नो पूरा नाम मोहमद नाजिर हुसेन रहेको बताएका छन् । “यदि, मेरो नामको कारणले हरेकपटक रोकिन्छु , अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो,” उनी लेख्छन्, “यदि, होइन भने मैले कारण थाहापाउनु पर्छ । पासपोर्ट स्क्यान गर्दा, ब्यक्तिको बारेमा सिस्टममा जानकारी पक्कै देखाउछ होला । पहिलोपटक यसरी नै सोधपुछ गर्दा ठिकै छ जस्तो लागेको थियो । तर, दोस्रोपटक ठिक लागेको छैन ।”




