‘फलानो ढिस्कानो’मा साइग्रेस, भन्छन्- फिल्मको नशाले छाडेन

काठमाडौं । चर्चित कथावाचक साइग्रेस पोखरेल अब ठूलो पर्दामा ‘मुख्य अभिनेता’का रूपमा देखिने भएका छन् ।

द्रव्य प्रोडक्सनको व्यानरमा निर्माण हुने हास्यप्रधान चलचित्र ‘फलानो ढिस्कानो’को मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच निर्माणको औपचारिक घोषणा गरिएको हो ।

निर्माण पक्षले मंगलबार सिनेमाको निर्माणको घोषणासँगै दुईवटा पोस्टर पनि सार्वजनिक गरेको छ ।

एउटा पोस्टरमा साइग्रेसले चलचित्र पत्रकारको ‘प्रेस कार्ड’ भिरेका छन् । जसमा उनी ‘पठाओ’ राइड कुरिरहेको देखिन्छन् । यसले उनी सिनेमामा एक संघर्षशील पत्रकारको भूमिकामा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा उनी बाइकको पछाडि बसेर कतै गइरहेका छन् । उनको हँसिलो अनुहार र हाउभाउ हेर्दा सिनेमाको नाम जस्तै उनको चरित्र केही रमाइलो र हास्यप्रधान हुने अनुमान गर्न सकिन्छ ।

चलचित्र ‘आ बाट आमा’ बाट अभिनय यात्रा सुरु गरेका साइग्रेस यसको सिक्वेलमा पनि देखिँदैछन् । तर, ‘फलानो ढिस्कानो’मा भने उनी प्रमुख भूमिकामा रहनेछन् । घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो अभिनय मोहबारे खुलासा गरे ।

“मैले सुरुमा ‘आ बाट आमा’ खेलेपछि अरु फिल्म खेल्दिनँ भन्ने सोचेको थिएँ,” साइग्रेसले भने, “तर फिल्म क्षेत्र त एउटा नशा जस्तै रहेछ । मलाई यो फिल्मको कथावस्तु यति मन पर्यो कि मैले नकार्न सकिनँ र अनुबन्धित भएँ ।”

चलचित्रमा साइग्रेसको जोडी को सँग बाँधिनेछ र अन्य कलाकार को-को हुनेछन् भन्ने कुरालाई निर्माण टिमले अहिले ‘गोप्य’ राखेको छ । निर्माण पक्षका अनुसार, कलाकार र प्राविधिक टोलीको विस्तृत विवरण केही समयपछि क्रमिक रूपमा सार्वजनिक गरिने जानकारी दिएको छ ।

राजकुमारले निर्देशन गर्ने यो चलचित्रको छायांकन आउँदो दसैं सकिएलगत्तै सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ ।