निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल, ‘प्रतिज्ञा’ निर्माण घोषणा
काठमाडौं । निर्माता सुशील पोखरेलले निर्देशनमा रूपमा डेब्यु गर्ने भएका छन् । चलचित्र ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् ।
सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै उनले सिनेमा निर्माणको औपचारिक घोषणा गरेका छन् ।
२०५४ सालदेखि सिनेमा निर्माणमा सक्रिय पोखरेलले यसअघि सिनेमा ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र ‘परालको आगो’मा लगानी गरिसेका छन् । विशेषगरी उनको सफल सिनेमामा प्रमाण ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’जस्ता पर्दछन् ।
सात वर्षको अन्तरालपछि ‘परालको आगो’ मार्फत गतवर्ष निर्मातामा कमब्याक गरेका पोखरेल यसवर्ष भने निर्देशनमा पाइला चाल्दैछन् । तीन दशक लामो निर्माण अनुभवलाई निर्देशनमा खर्चिने र दर्शकलाई एउटा उत्कृष्ट कथा पस्किन लागेको उनले बताए ।
“नेपाली सिनेमामा मेरो तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु । एउटा उत्कृष्ट कथावस्तु पाएकोले निर्देशनमा हाल हालेको हुँ,” उनले भने, “कथावस्तुले नै आकर्षित गरेर निर्देशन यात्रामा पाइला चाल्नु उपयुक्त लागेर यो कदम चाल्न लागेको हुँ ।”
सार्वजनिक पोस्टरमा भगवान् शिवको विशाल स्वरूप, त्रिशूल देखिन्छ । साथै पोस्टरमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ,’ भन्ने ट्यागलाइन राखिएको छ । जसले सिनेमा न्याय, संघर्ष र एउटा दृढ संकल्पको कथामा आधारित रहेको संकेत दिएको छ ।
फ्यामिली थ्रिलर जनरामा बन्ने सिनेमाको छायांकन आगामी तिहारको छेकोमा छायांकन गर्ने तयारी भइरहेको डेब्यु निर्देशक पोखरेलले बताए ।




