जग्गा कारोबारीदेखि पत्रकार श्रीमानसम्मलाई व्यङ्ग्य गरिएको नयाँ तीज गीत ‘दिक्क लाईसक्यो’
काठमाडौं । चलचित्र ‘बुलबुल’ र ‘भूटान’का निर्माता तथा गीतकार अविरल थापाले हरितालिका तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ बजारमा ल्याएका छन् ।
परम्परागत तीज गीतको शैलीभन्दा निकै फरक यस गीतमा वर्तमान समयका महिलाहरुको भोगाइ र सामाजिक मनोविज्ञानलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
यस गीतको सबैभन्दा बलियो र भिन्न पक्ष यसको भिडियो निर्माण शैली हो । नेपालमा सम्भवतः पहिलोपटक ‘एज रिभर्सड कास्टिङ’को अवधारणालाई यस भिडियोमा प्रयोग गरिएको छ ।
भिडियोमा वयस्क महिलाहरुले गर्ने अभिनय र उनीहरुको भूमिकामा स-साना बालिकाहरुलाई उतारिएको छ । नेपा डान्स एकेडेमीका १६ जना बालिकाहरुले विवाहित महिलाको भेषमा गरेको जीवन्त अभिनय र नृत्यले भिडियोलाई निकै आकर्षक बनाएको छ ।
हाल छायांकनमा रहेको चलचित्र ‘जुबा’की लेखक वर्षा पौडेलले यस भिडियोको निर्देशन गरेकी हुन् भने रोहिया महर्जनले यसमा कोरियोग्राफी गरेकी छिन् ।
गीतमा विभिन्न पेशामा आबद्ध श्रीमानहरुका कारण श्रीमतीहरुले भोग्नुपरेका विवशता र समस्यालाई ठट्यौलो तथा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
जग्गा कारोबारीदेखि डाक्टर, पत्रकार, पसले, वैदेशिक रोजगारीमा रहेका, शेयर कारोबारी, सरकारी कर्मचारी, सेना र फिल्मकर्मी श्रीमानहरुले समय नदिँदा वा उनीहरुको कार्यशैलीका कारण श्रीमतीको मनोदशामा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई गीतका शब्दले समेटेको छ ।
गीतकार थापा भन्छन्, “बजारमा आइरहेका एकैखाले र पुरानै शैलीका रोदनयुक्त गीतभन्दा बदलिँदो समयका आधुनिक नारीका वास्तविक कथा र समस्यालाई रमाइलो पारामा प्रस्तुत गर्ने प्रयास गरेका हौँ ।”
सार्वजनिक गीतमा गायिका दीपिका बयम्बु, गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको छ । गीतमा किरण भुसालको संगीत रहेको छ ।
अविरल थापा केवल निर्माता मात्र नभई एक स्थापित गीतकार पनि हुन् । यसअघि चलचित्र ‘साँघुरो’का लागि गहकिला गीत लेखिसकेका उनको ‘ठक्कर’ बोलको गीत गत वर्ष कान्तिपुर म्युजिक अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल भएको थियो ।
नयाँ गीत सार्वजनिक गरेसँगै थापा नयाँ चलचित्र निर्माणको तयारीमा पनि जुटेका छन् । केही समयअघि मात्रै उनले नयाँ चलचित्रका लागि नायिकाको खोजी गर्दै ‘अडिसन कल’ समेत आह्वान गरेका थिए ।
‘देवाश्री फिल्म्स’को युट्युब च्यानलबाट रिलिज गरिएको यो तीज गीतले समसामयिक शब्दका कारण दर्शकको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।




