बक्स अफिसमा ‘गौँथली’को छलाङ, ४ लाख ९४ हजार ९ सय बढी दर्शकले हेर्दा कमाइ कति पुग्यो ?

काठमाडौं । नेपाली चलचित्र बजारमा यतिबेला एउटा नामले निकै चर्चा पाइरहेको छ, ‘गौंथली’। प्रदर्शनको सुरुवाती दिनदेखि नै सुखद प्रतिक्रिया बटुल्न सफल यो चलचित्रले अहिले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै ऐतिहासिक सफलताको बाटो तय गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ‘गौंथली’ले प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

हालसम्म यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।

‘गौंथली’ यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा बनेको छ ।

चलचित्रको यो रफ्तार तेस्रो साताको आइतबारसम्म पनि उत्तिकै आक्रामक देखिएको छ । विशेषगरी काठमाडौं उपत्यका बाहिरका हलहरूमा दर्शकको चाप उल्लेख्य रहेको निर्माण पक्षले जनाएको छ ।

मोफसलका दर्शकहरूले चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई निकै रुचाएका छन्, जसका कारण उपत्यका बाहिरका हलहरूमा कलेक्सनमा निरन्तर बढोत्तरी भइरहेको छ ।

चलचित्रको सफलताको श्रेय यसको मौलिक कथा र सशक्त निर्देशनलाई दिइएको छ । वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा आधारित यस फिल्मलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

सुमन गिरी र डा. कपिल रिजालको लगानी रहेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् भने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा ईश्वरी बराल, सञ्जोग रसाईली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय पनि रहेको छ ।

नेपाली फिल्म उद्योगमा आशालाग्दो व्यापार गरिरहेको ‘गौंथली’ले तेस्रो सातामा प्रवेश गर्दा पनि आफ्नो साख जोगाइराखेको छ । यदि यही उत्साह कायम रहेमा यसले आगामी दिनमा थप नयाँ रेकर्डहरू राख्ने निश्चित देखिन्छ ।