नेपाली रजतपटमा डेब्यु गर्दै दार्जिलिङका चर्चित ‘भक्ते भाई’
काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच चलचित्रको शीर्षकसँगै कलाकार र प्राविधिक टोलीको परिचयात्मक घोषणा गरिएको हो ।
विगत लामो समयदेखि रङ्गपत्रकारिता र म्युजिक भिडियो निर्देशनमा सक्रिय सुब्रत आचार्यले यसै चलचित्रमार्फत निर्देशनमा ‘ह्याट्रिक’ गर्दैछन् ।
‘अधकट्टी’ र ‘सुश्री सम्पत्ती’ जस्ता सफल व्यावसायिक चलचित्र दिइसकेका आचार्यले ‘पच्चीस पच्चीस’ लाई आफ्नो परिपक्व अनुभवको निचोडका रूपमा प्रस्तुत गर्ने बताएका छन् । उनले यो चलचित्र पूर्ण रूपमा नेपाली माटो र परिवेश सुहाउँदो हुने दाबी गरे ।
चलचित्रलाई कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । यसका मुख्य निर्माता कर्ण कार्की हुन्, जो नेपाली व्यावसायिक जगतका एक स्थापित नाम हुन् । कार्कीले गत वर्ष ‘होस्टेल ३’ बाट चलचित्र निर्माणमा पाइला चालेका थिए ।
यस चलचित्रको सबैभन्दा रोचक पक्ष सामाजिक सञ्जालका ‘भाइरल’ कमेडियन अमित सुब्बाको डेब्यु हो । भारतको दार्जिलिङ निवासी अमित ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ नामक युट्युब च्यानल र सामाजिक सञ्जालमा ‘भक्ते भाई’ नामले अत्यन्तै लोकप्रिय छन् । ठेट शैली र रैथाने हँसाउने कलाका कारण नेपाल, दार्जिलिङ र सिक्किममा लाखौँ प्रशंसक कमाउन सफल अमितलाई यो चलचित्रले नेपाली रजतपटमा औपचारिक प्रवेश गराउँदैछ ।
चलचित्रमा अबिषेक खड्का र खुसी कार्कीले मुख्य भूमिका निर्वाह गर्नेछन् । उनीहरूको साथमा नेपाली सिनेमाका भर्सटायल एवं प्रखर अभिनेता प्रमोद अग्रहरि मुख्य भूमिकामा देखिनेछन् ।
चलचित्रको निर्माण टोलीमा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण सह-निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतम ‘माइकल’ छन् । प्रकाश कँडेल र मनिषा राउतले लाइन प्रोड्युसर हुन् ।
चलचित्रको कथा निर्देशक सुब्रत आचार्य र जयाले मिलेर तयार पारेका हुन् भने यसको पटकथा सुशील देवकोटाले लेखेका हुन् । हरि हुमागाईंले यस चलचित्रको छायांकन गर्ने भएका छन् ।
निर्माण पक्षका अनुसार ‘पच्चीस पच्चीस’ एक सामाजिक-कमेडी विधाको चलचित्र हो । समाजका यथार्थ घटनाहरूलाई व्यङ्ग्यात्मक र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु नै यसको मुख्य उद्देश्य रहेको निर्माण टोलीले जनाएको छ ।
यो चलचित्र छिट्टै नै छायांकनका लागि फ्लोरमा जाने तयारीमा छ । निर्देशक आचार्यले केही समयअघि चलचित्र ‘हजारौँमा एक’ घोषणा गरेका थिए । ‘पच्चीस पच्चीस’को छायांकन सकिएपछि मात्र ‘हजारौँमा एक’को हुने उनले बताए ।




