एक दशकपछि नीर शाहले निर्देशन गरेको ‘कमला मिस’ हेरेपछि कसले के भने ?
काठमाडौं । करिब एक दशकपछि निर्देशनमा फर्किएका कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को प्रिमियर सम्पन्न भएको छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित सिनेमाको मंगलबार साँझ दरबारमार्गस्थित जयनेपाल हलमा प्रिमियर शो आयोजना गरिएको हो ।
प्रिमियर शोमा चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्रले मुख्य रूपमा आमाको ममताबाट वञ्चित हुँदा एउटा बालकको मानसपटलमा पर्ने प्रभाव र त्यसले निम्त्याउने पीडालाई केन्द्रमा राखेको छ । आमाको खोजी, माया पाएपछि बालकमा आउने सकारात्मक परिवर्तन र एक महिलाले समाजमा भोग्नुपर्ने बहुआयामिक संघर्षलाई निर्देशक शाहले पर्दामा उतारेका छन् ।
यस चलचित्रले बालमनोविज्ञान र वर्तमान शैक्षिक अवस्थाबारे गम्भीर चिन्तन गर्न समेत बाध्य तुल्याएको प्रिमियरमा उपस्थितहरुबाट प्रतिक्रिया पाएको छ ।
प्रिमियरपछि प्रतिक्रिया दिँदै शिक्षाविद्हरूले चलचित्रलाई ‘शैक्षिक र सामाजिक दस्ताबेज’को संज्ञा दिएका छन् । विशेषगरी निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एनप्याब्सनका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूले चलचित्रले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अत्यन्तै संवेदनशील ढंगले प्रस्तुत गरेको बताए ।
प्रिमियरमा सहभागीहरूका अनुसार ‘कमला मिस’ केवल मनोरञ्जनको साधन मात्र नभई समाजलाई सकारात्मक दिशा निर्देश गर्ने मार्गचित्र पनि हो । बालबालिकाको भावना बुझ्न र उनीहरूलाई सही बाटोमा ल्याउन शिक्षक र अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा यस चलचित्रले सिकाउँछ । त्यसैले यो हरेक विद्यालय र घरका लागि उपयोगी रहेको सिनेमा उनीहरुले बताएका छन् ।
चलचित्रमा निर्देशक शाह स्वयंको साथमा रमेश बुढाथोकी, वासना तिमिल्सिना, बाल कलाकारहरू शिवम् सराफ क्षेत्री र आरभ दाहालको अभिनय रहेको छ । यस्तै भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी लगायतका कलाकारहरूको पनि भूमिका रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर शाहलाई प्रजल दुलाल र सुगम दुलालले साथ दिएका छन् ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।
विजय मल्ल परिवारले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माताहरूमा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल ,चैतन्य प्रधान ,रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’ कार्यकारी निर्माता हुन् । चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।
एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएको यो चलचित्र आगामी साउन २२ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।





