‘कार्की साइँला’को पहिलो गीत सार्वजनिक, जितु र प्रियानाको प्रेमिल ‘केमेस्ट्री’

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘कार्की साइँला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ ।

आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच प्रचारप्रसारको सुरुवात गर्दै गीत रिलिज गरेको हो ।

सार्वजनिक गरिएको प्रेमिल शैलीको यस गीतमा चलचित्रका मुख्य दुई पात्र जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)लाई फिचर गरिएको छ । दुवैले पहिलो पटक सहकार्य गरेका हुन् ।

पोखराको रमणीय बेगनास ताल, झरना र प्राकृतिक सुन्दरताका बीच खिचिएको भिडियोमा जितु र प्रियानाको जोडी निकै सुहाएको देखिन्छ ।

यस गीतमा श्रेय अगस्ती र बेनिशा पौडेलको सुमधुर स्वर सुन्न सकिन्छ । विष्णु नेपाल नेपालीको शब्द रचना रहेको गीतलाई संकेत अगस्तीले संगीतवद्ध गरेका हुन् ।

ग्रामीण परिवेशमा निर्माण भएको यो चलचित्र भरिया पात्र (पारिश्रमिक लिएर भारी बोक्ने मानिस)को संघर्षको कथामा आधारित रहेको जनाइएको छ । जितु र प्रियना यस चलचित्रमा उनीहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिनेछन् ।

कर्ण बहादुर फिल्म्सको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा जितु र प्रियानाका साथै शुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतको सशक्त अभिनय रहेको छ ।

डम्बर राईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले लेखेका हुन् । बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्त राई हुन् । सन्देश शाहले सम्पादन गरेको यस चलचित्रलाई नारायण गुरुङले छायाङ्कन गरेका हुन् ।