अभिनेता तथा मुख्यमन्त्री विजयलाई पारिवारिक राहत, पत्नी संगीताले फिर्ता लिइन् सम्बन्धविच्छेदको निवेदन

काठमाडौं । तमिलनाडुका मुख्यमन्त्री एवं चर्चित दक्षिण भारतीय अभिनेता जोसेफ विजय चन्द्रशेखर (विजय थलापति)को वैवाहिक जीवनमा आएको उतारचढाव तत्कालका लागि साम्य भएको छ ।

विजयकी पत्नी संगीता सोर्नालिंगमले अदालतमा दायर गरेको सम्बन्धविच्छेदको निवेदन शुक्रबार औपचारिक रूपमा फिर्ता लिएकी छन् । योसँगै लामो समयदेखि चर्चामा रहेको उनीहरूको डिभोर्स प्रकरणले नयाँ मोड लिएको छ ।

सम्बन्धविच्छेदको निवेदन फिर्ता लिने प्रक्रियाका लागि संगीता बेलायतबाट भिडियो कन्फरेन्समार्फत अदालतको सुनुवाइमा सहभागी भएकी थिइन् । न्यायाधीश सुजाताको इजलासमा भएको सुनुवाइका क्रममा संगीताले आफू अब यो मुद्दालाई अगाडि बढाउन नचाहने र निवेदन फिर्ता लिन चाहेको जानकारी दिएकी थिइन् ।

न्यायाधीश सुजाताले संगीतासँग करिब १५ मिनेट व्यक्तिगत रूपमा छलफल गरेकी थिइन् । छलफलका क्रममा संगीता आफ्नो निर्णयमा दृढ देखिएपछि अदालतले निवेदन फिर्ता लिन अनुमति दिँदै मुद्दा अन्त्य गर्ने फैसला सुनाएको हो ।

संगीताले यसै वर्षको फेब्रुअरी महिनामा अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएकी थिइन् । सो निवेदनमा उनले विजयमाथि गम्भीर आरोपहरू लगाएकी थिइन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार संगीताले विजयको वैवाहिक सम्बन्धबाहिर (एक्स्ट्रा म्यारिटल अफेयर) अर्की एक अभिनेत्रीसँग सम्बन्ध रहेको दाबी गरेकी थिइन् । उनले यस्तो सम्बन्धबारे सन् २०२१ को अप्रिलमा थाहा पाएको उल्लेख गरेकी थिइन् ।

संगीताले निवेदनमा विजयबाट आफू लगातार मानसिक रूपमा प्रताडित हुनुपरेको, आफूलाई बेवास्ता गरिएको र भावनात्मक रूपमा दुरी बढेको गुनासो गरेकी थिइन् । उनीहरू लामो समयदेखि एउटै घरमा भए पनि अलग-अलग बस्दै आएका थिए ।

विजयले यसै वर्ष १० मेमा तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । निर्वाचन प्रचारप्रसारका क्रममा यो व्यक्तिगत विवादले निकै चर्चा पाएको थियो ।

विशेषगरी, विजयको नाम अभिनेत्री तृषा कृष्णनसँग जोडिएर विभिन्न टिकाटिप्पणी भएका थिए । संगीताले अदालतमा अभिनेत्रीको नाम उल्लेख नगरे पनि सार्वजनिक रूपमा तृषाकै नाम बढी चर्चामा थियो ।

तृषा विजयको मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहमा समेत अग्रपंक्तिमा सहभागी भएकी थिइन्, जसले सामाजिक सञ्जालमा थप चर्चा र आशंका उब्जाएको थियो । तर, विजय र तृषा दुवैले आफ्नो सम्बन्धबारे हालसम्म कुनै पनि सार्वजनिक टिप्पणी वा पुष्टि गरेका छैनन् ।

राजनीतिको शिखरमा पुगेका बेला पारिवारिक संकट झेल्दै आएका विजयका लागि पत्नीले निवेदन फिर्ता लिनु ठूलो राहतको विषय बनेको छ । संगीताको यो कदमले उनीहरूबीच पुनर्मिलनको सम्भावना बढेको वा आपसी समझदारीमा विवाद सुल्झिएको अनुमान गरिएको छ ।

मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालिरहेका विजयले आफ्नो राजनीतिक करियरको व्यस्तताका बीच यो व्यक्तिगत मुद्दालाई कसरी व्यवस्थापन गर्छन् भन्नेमा धेरैको चासो रहेको थियो । हाललाई भने कानुनी रूपमा उनीहरूको सम्बन्धविच्छेदको प्रक्रिया टुंगिएको छ ।

केही समयअघि विजय अभिनीत सिनेमा ‘जन नायगन’ले रिलिजसँगै बक्स अफिसमा धमाका मच्चायो । यो उनको अभिनय करिअरको अन्तिम सिनेमा हो ।