एक लाख पुरस्कारसहित ‘युवा सर्ट फिल्म फेस्टिभल’ आह्वान
काठमाडौं । २० वर्ष मुनिका प्रतिभाहरूलक्षित चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान गरिएको छ । अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा प्रतियोगिता आह्वान भएको हो ।
प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले पचास हजार र तेस्रोले पच्चीस हजार पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कारसमेत रहेको प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज अध्ययन गर्ने चाहे कलेजले पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने समेत कलेजद्वारा जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।
प्रतियोगीताका लागि आह्वान गरिएका सर्ट फिल्महरु कम्तीमा ८ मिनेट र बढीमा १५ मिनेटको हुनुपर्नेछ। फिल्म बुझाइसक्नुपर्ने समय सीमा भदौ ८ गतेसम्म तोकिएको छ । प्रतियोगिताका उत्कृष्ट सिनेमाहरु प्रदर्शनीसँगै विजेताहरूको घोषणा भदौ १५ गते हुने छ । सोही समारोहमा पुरस्कार वितरण पनि जनाइएको छ ।
युवा पुस्तालाई सिनेमा निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आइरहेको अस्कर कलेजका प्राध्यापक रामराजा दहालले बताए ।
नेपालमा आयोजना हुने युवालक्षित केही सर्ट फिल्म प्रतियोगितामध्ये यो एउटा महत्त्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित भइरहेको उनको भनाइ छ ।




