‘लोकल हिरो’मा अरुण क्षेत्री अनुबन्धित
काठमाडौं । चलचित्र ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले प्रमुख अभिनेताका रूपमा अभिनेता अरुण क्षेत्रीलाई अनुबन्ध गरेका छन् ।
हलमा प्रदर्शनको क्रममा रहेको ब्लकबस्टर चलचित्र ‘गौथली’का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’मा शीर्ष भूमिका निर्वाह गर्नेछन् । यो चलचित्र निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन् ।
अघिल्लो वर्षको सुपरहिट चलचित्र ‘जेरी अन टप’ निर्माण गरेको टिमले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो । चलचित्रको अन्य कलाकार तथा प्राविधिक टोलीका विषयमा भने निर्माण पक्षले अन्य जानकारी सार्वजनिक गरेको छैन ।
‘लोकल हिरो’ले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्नेछ ।
अनन्या फिल्मस् प्रालिको ब्यानरमा ‘लोकल हिरो’सँगै ‘जेरी : द लास्ट क्लाइम्ब’ र ‘टिका’ गरी तीन चलचित्र निर्माणको पाइपलाइनमा रहेका छन् ।




