धुर्मुस भन्छन्- राज्यले नसुनेपछि १८ करोड ऋणको भारी बोकेर पुनः अमेरिका फर्किएँ
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले १० वर्षसम्म समाजसेवा र राष्ट्र निर्माणको सपनामा होमिएर अन्ततः निराशा र पीडा बोकेर पुनः अमेरिका फर्किएको बताएका छन् ।
दुई महिनाअघि नेपाल आएका उनी राज्यका विभिन्न निकायमा पुगेर न्याय र सहयोगको अपिल गरे पनि सुनुवाइ नभएपछि बिहीबार बिहान अमेरिका फर्किएका हुन् ।
गएको जेठ अन्तिममा छोरी सुबिहानीको साथमा नेपाल आएका कट्टेलले आफ्नो बसाइका क्रममा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण फर्स्यौटका लागि निकै दौडधूप गरेका थिए । तर, बालुवाटारदेखि सिंहदरबारसम्मका ढोका ढकढक्याउँदा पनि ठोस नतिजा नआएपछि उनी ‘आफ्नो आवाज बेवारिसे भएको’ निष्कर्षसहित फर्किएको उल्लेख गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा छोरीसँगको तस्विर सेयर गर्दै धुर्मुसले आफ्नो समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा निरन्तर पहल गरे पनि अपेक्षित सुनुवाइ नभएको गुनासो गरेका छन् ।
नेपाल बसाइँका क्रममा उनले चितवनमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको ऋण तथा आर्थिक दायित्व समाधानका लागि सरकारी निकायसँग पटक–पटक छलफल र पहल गरेको तर, आफूले न्याय र समस्याको समाधानको अपेक्षासहित राज्यका ढोका ढकढक्याउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
धुर्मुसले दुई महिनासम्म आफूले अथक प्रयास गरेको उल्लेख गर्दै राज्यका विभिन्न निकायमा पुगेर आफ्नो समस्या राखे पनि समाधानको बाटो नखुलेको बताएका छन् ।
‘दुई महिना अथक प्रयास गरेँ । राज्यका ढोका–ढोका पुगेँ । न्यायको आशामा राज्यलाई गुहारेँ । तर, न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ,’ उनले लेखेका छन् ।
उनका अनुसार आफू र परिवारमाथि रहेको आर्थिक दायित्व समाधान हुनुको सट्टा रंगशालाका लागि विनियोजित बजेटसमेत खर्च हुन नसक्ने अवस्था बनेको छ । उनले रंगशाला निर्माणसँग सम्बन्धित विषयमा राज्यबाट अपेक्षित सहयोग नपाएको भन्दै निराशा व्यक्त गरेका छन् ।
‘समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो,’ उनले अगाडि लेखेका छन् ।
धुर्मुसले आफ्नै देशमा न्याय र समाधान खोज्दा आफ्नै आवाज बेवारिसे बनेको अनुभूति भएको बताएका छन् । समाज र राष्ट्रका लागि केही गर्ने उद्देश्यले आफूले जीवनको महत्वपूर्ण समय समर्पण गरे पनि त्यसको प्रतिफल निराशा बनेको उनको गुनासो छ ।
‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ,’ उनले लेखेका छन्, ‘१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला ।’
यद्यपि, निराशाका बीच पनि राज्यप्रतिको आफ्नो आशा भने पूर्ण रूपमा समाप्त नभएको उनले बताएका छन् । उनले कुनै दिन राज्यले आफ्नो संघर्ष र पीडा बुझ्ने विश्वास व्यक्त गरेका छन् ।
‘मन भारी भएको छ । ओठ कापेका छन् । आँखा रसाएका छन् । तर, हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ धुर्मुसले भनेका छन्, ‘कुनै दिन राज्यले सम्झिनेछ । समयले सत्य बोल्नेछ । हाम्रो पीडा सुनिनेछ । त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ ।’
उनले आफूहरूले देशका लागि गरेको योगदान र देशप्रेमको भावना पनि कुनै दिन राज्यले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ । अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ,’ उनको भनाइ छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाइएको थियो । रंगशाला निर्माणका क्रममा ठूलो रकम खर्च भएको र निर्माणका क्रममा विभिन्न व्यक्ति तथा संस्थासँग लिएको रकम तथा बाँकी दायित्वका कारण धुर्मुस दम्पती आर्थिक समस्यामा परेको बताइँदै आएको छ ।
रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँभन्दा बढी ऋण तथा दायित्व फर्स्यौटको विषय लामो समयदेखि विवाद र छलफलको विषय बन्दै आएको छ । यही आर्थिक दायित्व समाधानका लागि धुर्मुसले पटक–पटक सरकारसँग सहयोग र पहलको आग्रह गर्दै आएका छन् ।
रंगशाला निर्माणको काम बीचमै रोकिएपछि परियोजना अन्ततः भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसपछि पनि निर्माणका क्रममा सिर्जित आर्थिक दायित्वको विषय भने पूर्ण रूपमा टुंगो लाग्न नसकेको धुर्मुसको भनाइ छ ।
पछिल्लो नेपाल बसाइँमा पनि उनले यही विषयलाई प्राथमिकतामा राखेर सम्बन्धित निकाय तथा सरकारी पक्षसँग भेटघाट र छलफल गरेका थिए । तर, आफ्नो अपेक्षाअनुसार समस्या समाधान हुन नसकेपछि उनी पुनः अमेरिका फर्किन बाध्य भएको बताएका छन् ।
रंगशाला निर्माणसँग जोडिएको आर्थिक विवादका कारण मानसिक तथा आर्थिक दबाबमा रहेका धुर्मुस केही समयअघि छोरीको उपचारका लागि अमेरिका गएका थिए । त्यसपछि उनी अमेरिकामै बस्दै आएका छन् । उनले अमेरिकाको ग्रीन कार्डसमेत लिइसकेको बताइँदै आएको छ ।




