गायिका समीक्षा अधिकारीले मागिन् सुरक्षा र गोपनीयता
काठमाडौं । गायिका समीक्षा अधिकारीले डेढ वर्षदेखि आफू ब्लफ कलको सिकार भइरहेको खुलासा गरेकी छन् ।
एकै व्यक्तिले फरक–फरक नम्बरबाट विभिन्न बहाना बनाउँदै निरन्तर फोन गरेर दुःख दिएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र सँगै चेतावनी सार्वजनिक गरेकी हुन् ।
उनलाई विगत १८ महिनादेखि रमेश शाही नामक व्यक्तिले तारान्तार फोन गरी मानसिक तनाव दिइरहेको तर फोन उठाउनासाथ आफ्नो नाम बताउने गरे पनि फोन गर्नुको उद्देश्य भने कहिल्यै प्रस्ट नपारेको उल्लेख गरेकी छन् ।
“फोन उठाउँदा म रमेश शाही भन्नुहुन्छ, तर के कामले फोन गर्नुभएको भन्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न,” समीक्षाले फेसबुकमा लेखेकी छन् ।
एउटा नम्बर ब्लक गरेपछि पुनः अर्को नयाँ नम्बरबाट फोन आउने क्रम नरोकिँदा आफू आजित भएको समीक्षाले उल्लेख गरेकी छन् ।
शाहीले अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर फोन गरिरहेको हुन सक्ने समीक्षाको गुनासो छ । हालसम्म उनले करिब ५०० वटा फरक–फरक मोबाइल नम्बरहरू ब्लक गरिसकेको बताएकी छन् ।
“डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्न बाध्य भएँ,” उनले आफ्नो पीडा सुनाएकी छन् ।
आफ्नो व्यक्तिगत मोबाइल नम्बर कसरी ती व्यक्तिसम्म पुगिरहेको छ भन्नेमा समीक्षा चिन्तित छिन् । उनले आफ्ना चिनजानका व्यक्ति, सञ्चारकर्मी र आफन्तहरूलाई आफ्नो अनुमति र कामको प्रकृति नबुझी कसैलाई पनि नम्बर उपलब्ध नगराइदिन अनुरोध गरेकी छन् ।
उनले अगाडि लेखेकी छन्, “कृपया मेरो नम्बर कसैले माग्दैमा बिनाकारण अरूलाई नदिनुहोला । उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला ।”
पटक–पटकको चेतावनी र ब्लक गर्दा पनि हैरानी नरोकिएपछि समीक्षाले यो विषय सार्वजनिक गरेकी हुन् । यति ठूलो संख्यामा फोन गरेर दुःख दिने कार्य ‘साइबर बुलिङ’ र ‘ह्यारासमेन्ट’ अन्तर्गत पर्ने भएकोले उनले अब कानुनी उपचार खोज्न सक्ने समेत देखिएको छ ।




