बक्स अफिस: ‘हली’को व्यापार निराशाजनक, १० लाख कमाउन पनि ‘लज्जावती’लाई धौ-धौ
काठमाडौं । प्रदर्शनरत दुई चलचित्र ‘हली’ र ‘लज्जावती’ले दर्शकको साथ पाउन संघर्ष गरिरहेका छन् । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यी दुवै चलचित्रको व्यापारिक नतिजा निकै कमजोर देखिएको छ ।
गत साउन २९ गतेदेखि देशभरका सिनेमा घरमा रिलिज भएको चलचित्र ‘लज्जावती’ले बक्स अफिसमा निकै फितलो सुरुवात गरेको छ । प्रदर्शनको पहिलो साता बितिसक्दा पनि यसले १० लाख रुपैयाँको आँकडा छुन सकेको छैन ।
बोर्डको तथ्याङ्कअनुसार भदौ ७ गते आइतबारसम्म चलचित्रले जम्मा ७ लाख ६८ हजार ४ सय ५० रूपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा देशभरका हलहरूबाट जम्मा २ हजार ६ सय ९६ वटा मात्र टिकट बिक्री भएको देखिन्छ ।
आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको ‘लज्जावती’का लेखक तथा निर्देशक राजबहादुर साने हुन् । चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
यस्तै, साउन २२ गते रिलिज भएको ‘हली’ले २२ लाख ९३ हजार ९२० रुपैयाँ ग्रस कमाएको छ । अघिल्लो साताभन्दा चलचित्रको यो व्यापार १ लाख १६ हजारले मात्र बढी हो । चलचित्रका अहिलेसम्म ८ हजार ३८५ वटा टिकट बिक्री भएका छन् ।
सुदूरपश्चिम र मध्यपश्चिम नेपालको कुप्रथाका रूपमा रहेको छाउपडी र सामाजिक विभेदलाई मुख्य विषयवस्तु बनाएर यो चलचित्र निर्माण गरिएको हो । ओम प्रतीकको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा लगायतको अभिनय छ ।




