‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् ।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको प्रवेश भएको हो । अहिलेकी व्यस्त र डिमान्डेड नायिका अञ्जनाको प्रवेशसँगै सिनेमाको लाइनअप थप बलियो भएको छ ।
“सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयास स्वरुप हामीले अञ्जनालाई अनुबन्ध गराएका छौँ,” निर्देशक सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ, यो क्रम अझै जारी छ ।”
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्नेछ ।
यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ ।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ ।
चलचित्रको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।




