चलचित्र विकास बोर्डमा डिसीको दुईवर्षे कार्यकाल पूरा: नयाँ नेतृत्वको रस्साकस्सी सुरु, अब को बन्ला अध्यक्ष ?

काठमाडौं ।  नेपाली चलचित्र क्षेत्रको सर्वोच्च नियामक निकाय चलचित्र विकास बोर्डका १८ औँ अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) आफ्नो दुईवर्षे कार्यकाल पूरा गरी बिदाइ भएका छन् ।

विसं २०८१ भदौ १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्त भएका दाहालले शुक्रबार एक कार्यक्रमका बीच बोर्डबाट औपचारिक बिदा लिएका हुन् ।

बोर्डको हलमा आयोजित बिदाइ समारोहमा बोर्डका सदस्य-सचिव सविन सिंह चौधरी, बोर्ड सदस्य सन्तोषबाबु लोहनी तथा कर्मचारीहरूले उनलाई मायाको चिनो प्रदान गर्दै सुखद कार्यकालको लागि बधाई ज्ञापन गरेका थिए ।

नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी संघका तत्कालीन अध्यक्ष रहेका दाहालको नियुक्ति हुँदा उनलाई ‘राजनीतिक नियुक्तिको उपज’ र ‘प्रधानमन्त्री ओलीसँगको निकटता’को लाभ पाएको आरोप लागेको थियो । तर, दुई वर्षको अवधिमा उनले गरेका काम र बोर्डमा ल्याएको गतिशीलताका कारण उनको कार्यकाललाई चलचित्र वृत्तमा तुलनात्मक रूपमा सफल र परिणाममुखी मानिएको छ ।

आफ्नो कार्यकालमा बोर्डलाई परम्परागत ढर्राबाट बाहिर निकाल्दै आधुनिक प्रविधिमैत्री बनाउन दाहालले उल्लेख्य भूमिका खेलेका छन् ।

लामो समयदेखि बहसको विषय बनेको ‘पारदर्शी व्यापार’लाई व्यवस्थित गर्न उनले साप्ताहिक रूपमा रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने पद्धतिको सुरुवात गरे । यसले फिल्मको वास्तविक कमाइबारे हुने विवादलाई न्यूनीकरण गरेको छ ।

यसैगरी, बोर्डको प्रशासनिक कामकारबाही र फिल्म दर्ता प्रक्रियालाई डिजिटलाइजेसन गरी सेवाग्राहीका लागि झन्झटमुक्त बनाइयो ।

साथै, फिल्मकर्मीहरूको सीप र दक्षता बढाउन विभिन्न वर्कसप र तालिमहरू सञ्चालन तथा नेपाली फिल्म उद्योगको २५ वर्षको यात्रामा सबैभन्दा धेरै व्यावसायिक सफलता हात पारेका २५ फिल्महरूलाई विशेष सम्मान गर्ने कार्यक्रमले फिल्मकर्मीहरूमा उत्साह जगाएको थियो ।

दिनेश डिसीको बहिर्गमनसँगै चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि दौडधुप सुरु भइसकेको छ । पछिल्लो राजनीतिक समीकरण र शक्तिको फेरबदलसँगै यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट फिल्मकर्मीहरूले नेतृत्व हत्याउन कडा लबिङ सुरु गरेको चर्चा छ । रास्वपा निकट स्रोतका अनुसार पार्टीले आफ्ना ‘भिजनरी’ फिल्मकर्मीलाई बोर्ड पठाउन आन्तरिक तयारी गरिरहेको छ ।

यता, निवर्तमान अध्यक्ष दिनेश डिसीले पनि आफ्ना केही अधुरा योजना पूरा गर्न एक कार्यकाल पुनः दोहोरिने इच्छा व्यक्त गरेका छन् । उनले आफू निकट स्रोतहरूसँग ‘बोर्डमा सुरु गरेका सुधारका कामलाई पूर्णता दिन अर्को एक कार्यकाल आवश्यक रहेको’ बताउँदै आएका छन् ।

बोर्डको तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब केही दिनमै अध्यक्ष पदका लागि खुला आवेदन आह्वान गर्नेछ। आवेदन दिएका उम्मेदवारहरूमध्येबाट छनोट समितिले उत्कृष्ट तीनको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । अन्ततः मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षका लागि बोर्डको नयाँ सारथि नियुक्त गर्ने कानुनी प्रावधान छ ।