कठिनाइलाई साहसले जित्नु बाहेक अर्को विकल्प छैन- मनीषा कोइराला
काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले यतिबेला सिंगो नेपाललाई स्तब्ध बनाएको छ । धनजनको ठूलो क्षतिसँगै मुलुक अहिले राष्ट्रिय शोकमा छ । यही त्रासदीपूर्ण घडीमा अभिनेत्री मनीषा कोइरालाले आफ्नो मातृभूमिप्रति दुःख र समवेदना व्यक्त गरेकी छिन् ।
हालै सद्गुरुद्वारा आयोजित ‘इन सोलिडेरिटी विद नेपाल’ (नेपालका लागि ऐक्यबद्धता) कार्यक्रममा सहभागी भएकी मनीषा पटक–पटक भावुक बनिन् । बाढीका कारण आफन्त गुमाएका परिवार र पीडितहरूको कथा सुनाउँदा उनी आफ्नो आँसु थाम्न सकिरहेकी थिइनन् । मनीषाको मलिन अनुहार र गहभरि आएका आँसुले कार्यक्रममा उपस्थित अन्य सहभागीहरूलाई समेत भावविह्वल बनाएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मनीषा निकै भावुक मुद्रामा प्रस्तुत भइन् । उनले आफ्नो देशले बारम्बार झेल्नुपरेको प्राकृतिक विपत्तिप्रति प्रश्नसमेत गरिन् । “हाम्रो देशले पटक–पटक यस्तो कठिन परीक्षा किन दिनुपरेको छ ? कहिले भूकम्प आउँछ र हजारौंको संसार उजाडिन्छ, त कहिले यस्तो भयानक बाढीले मानिसहरूलाई सर्वस्व गुमाउन बाध्य पार्छ,” उनले रुँदै भनिन् ।
विगतको पीडा स्मरण गर्दै मनीषाले थपिन्, “जब २०७२ सालको भूकम्प गयो, म आफैं राहत लिएर सिन्धुपाल्चोक पुगेकी थिएँ । त्यहाँका भत्किएका घर र मानिसहरूको रित्तिएको संसार मैले आफ्नै आँखाले हेरेकी थिएँ । तर, अहिले रसुवामा बाढीले गरेको त्यो विध्वंश हेर्न जाने ममा हिम्मत छैन । ती दृश्यहरू सम्झिँदा मात्रै पनि मेरो मुटु काँप्छ ।”
“किन प्रकृतिले हामीलाई यति धेरै कठोर सजाय दिन्छ ? वा सायद हाम्रै आफ्नै कार्यहरूको परिणाम त होइन यो ? के हामीले भोगिरहेको यो पीडालाई कम गर्ने कुनै उपाय छैन ?” उनले ईश्वरसँग प्रार्थना गर्दै भनिन्, “हे भगवान, के नेपालीहरूले अलि कम पीडा पाउने दिन आउँदैन ? मलाई थाहा छैन मेरा यी भावनाहरूलाई कसरी व्यक्त गरुँ ।”
पीडाका बीच पनि मनीषाले नेपालीहरूको धैर्यता र साहसको प्रशंसा गरिन् । उनले भोटेकोशीको यो त्रासदीबाट नेपाल चाँडै बाहिर निस्कने विश्वास व्यक्त गरिन् । “जीवनले हामीलाई जति नै पीडा दिए पनि हामीसँग त्यसलाई सामना गर्नुको अर्को विकल्प छैन । हामीले आफ्नो सबै साहस बटुलेर फेरि उठ्नुपर्छ र बिस्तारै अगाडि बढ्नुपर्छ,” उनले दृढताका साथ भनिन्, “हाम्रो देश फेरि उठ्नेछ, र हाम्रा मानिसहरूले यो दुःखलाई चिरेर अगाडि बढ्नेछन् ।”
सद्गुरुको उक्त कार्यक्रममा नेपालका लागि विश्वभरबाट प्रार्थना र सहयोगको अपिल समेत गरिएको थियो ।




