‘ह्वाट शेखर स’ बन्यो चौथो युवा लघु सिनेमा प्रतियोगिताको विजयी

काठमाडौं । २२ वर्षदेखि स्नातक तहमा सिनेमा अध्यापन गराउँदै आएको अस्कर अन्तर्राष्ट्रिय कलेजले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गरेको चौथो युवा लघु सिनेमा प्रतियोगिताको प्रथम पुरस्कार ऋषभ ओझाको ‘ह्वाट शेखर स’ सिनेमाले प्राप्त गरेको छ ।

नगद एक लाख पाएको यो सिनेमाले दाजु भाइको सम्बन्ध केलाउँदै सामाजिक दबाब, मानसिक स्वास्थ्य एवम् पुरुष एकाङ्कीपनको मार्मिक र सुन्दर कथा पेश गर्छ ।

काठमाडौंको सुकेधारास्थित कलेजकै ‘साधना घर’ प्रेक्षालयमा सम्पन्न उत्कृष्ट १२ सिनेमाहरूको प्रदर्शनी तथा पुरस्कार घोषण एवं वितरण कार्यक्रममा निर्णायकहरू सुवास कोइराला, कला संग्रौला र प्रशन्न मालीले विजेताहरू घोषणा गरेका थिए ।

दोश्रो पुरस्कार रियाना थापाको ‘घरको बाटो’ले पाएको थियो भने तेश्रो पुरस्कार आतिफ खानको ‘लभ(नोट’ले पाएको थियो । घरको बाटोले शान्त तथा अवलोकनात्मक दृष्टिकोणमा एउटै घेराभित्र च्यापिईरहेकी बालिकाको कथा र लभ नोटले प्रेमकथा भनेको थियो ।

जुरी पुरस्कार यस वर्ष दुईवटा सिनेमाहरूलाई प्रदान गरिएको थियो । पहिलो पुरस्कार लक्की कार्कीको ‘रेम्नेन्ट्स अफ द मेमोरी’ले पाएको थियो जसले दृष्यात्मक कथावाचनमा डुबुल्की लगाएको थियो भने दोश्रो जुरी पुरस्कार निर्मल विकको ‘आशा’ले पाएको थियो जसमा अत्यन्तै संवेदनशील ढङ्गले बाल यौन शोषणको मुद्दा उठाइएको थियो ।

दोश्रो विजेताले ५० हजार तथा तेश्रोले २५ हजार रकम प्राप्त गरेका थिए । जुरी पुरस्कार सहित सबै विजयीहरूले यदि कलेज भर्ना हुन चाहेको खण्डमा कलेजले ट्युशन शुल्कमा पचास प्रतिशत छात्रवृत्ती प्रदान गर्ने आयोजकले जनाएको छ ।

२० वर्षमुनिका प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्यका साथ सुरूवात भएको यस प्रतियोगितामा प्रत्येक वर्ष सहभागी युवा सिनेमाकर्मीहरूको संख्या बढेर यस वर्ष ४५ भन्दा बढीले सिनेमा बुझाएको र तीमध्ये १८ जनाका सिनेमा प्रतियोगिताको लागि योग्य ठहरिएको कलेजले बताएको छ ।