५ गाडी राहत लिएर रसुवा र नुवाकोट पुगिन् ‘मुन्नी’

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले जनधनको ठुलो क्षति पुर्‍याएपछि यतिबेला देश शोकमा छ । सयौँ परिवारको गाँस, बास र कपास खोसिएको यस विपद्को घडीमा कलाकारिता क्षेत्रबाट मानवीय सहयोगको हात अघि बढीरहेका छन् ।

यसैबीच, आगामी असोज २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कार्की साइँला’की मुख्य अभिनेत्री प्रियना आचार्य (मुन्नी) यतिबेला सिनेमाको प्रचारप्रसारका कार्यक्रमलाई थाँती राख्दै पीडितको सेवामा जुटेकी छन् । चलचित्र हलमा लाग्न दुई साता पनि बाँकी नरहेको व्यस्त समयमा उनी आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री बोकेर बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट पुगेकी हुन् ।

बाढीका कारण बिचल्लीमा परेका मानिसहरूका लागि खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्री जुटाएर पुगेकी अभिनेत्री आचार्यले मानवीय धर्मलाई पहिलो प्राथमिकतामा राखेकी छन् । उनले भनिन्, “अहिले मेरो लागि फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्‍याउनु ठुलो कुरा हो । मानिसको जीवन नै संकटमा परेको बेला प्रचारमा रमाउन सकिँदैन, त्यसैले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय छु ।”

भारी बोकेर आफ्नो जीविकोपार्जन गर्ने एक संघर्षशील मजदुर (कार्की साइँला) को कथालाई पर्दामा उतारिएको यस चलचित्रमा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस चलचित्रमा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता बाल कुमार राई र निर्भिक बञ्जारा हुन भने कार्यकारी निर्माता अनन्त राई रहेका छन् ।

डम्बर राईको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन् । चलचित्रमा डम्बर राई र नारायण गुरुङको छायाङ्कन, सन्देश शाहको सम्पादन छ ।