डोमिनिकन रिपब्लिकको पोल्टामा दोस्रो ‘मिस वर्ल्ड’ ताज, को हुन् विजेता जोहेइरी मोला ?
काठमाडौं । डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेइरी मोला विश्व सुन्दरी बनेकी छन् । भियतनामको न्हा ट्राङमा शनिबार सम्पन्न ७३औँ मिस वर्ल्ड प्रतियोगितामा १११ देशका सुन्दरीहरूलाई पछि पार्दै मोलाले यो सफलता हात पारेकी हुन् ।
मोलाको जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रोपटक मिस वर्ल्डको उपाधि हात पारेको छ । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले उक्त देशका लागि पहिलोपटक मिस वर्ल्डको ताज जितेकी थिइन् ।
प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न ‘फर्स्ट रनरअप’ र मलेसियाकी तानुसिया चेट्टी ‘सेकेन्ड रनरअप’ घोषित भए। मलेसियाकी चेट्टीले ‘ब्युटी विथ अ पर्पस’ अवार्ड समेत जित्न सफल भइन् ।
अन्तिम ६ मा इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका सुन्दरीहरूले स्थान बनाएका थिए । गत वर्षकी विजेता ओपल सुताचाले मोलालाई ताज पहिर्याइदिएकी थिइन् ।
मोलाले फाइनलमा पुग्नुअघि अमेरिका तथा क्यारेबियन क्षेत्रको ‘टप मोडल’ उपाधि जितेकी थिइन् । सोही सफलताका कारण उनी शीर्ष ४० मा स्थान बनाउन सफल भएकी थिइन् । प्रतियोगितामा टप मोडलसँगै ‘ब्युटी विथ अ पर्पस’, ट्यालेन्ट, स्पोर्ट्स र पिपुल्स च्वाइसजस्ता विधाका उत्कृष्ट प्रतिस्पर्धी तथा निर्णायकको छनोटबाट शीर्ष ४० तय गरिएको थियो ।
नाइजेरियाकी २६ वर्षीया करिबी जर्जले अफ्रिका क्षेत्रको ‘टप मोडल’ उपाधि जितिन् । दक्षिण अफ्रिकाकी रोमान्डा होम्बिर भने अफ्रिका महादेशीय विजेता बनिन् ।
फाइनलको सुरुवातमा १११ प्रतिस्पर्धी इभिनिङ गाउनमा प्रस्तुत भएका थिए । त्यसपछि उनीहरूले भियतनामको परम्परागत ‘आओ दाइ’ पोसाकमा प्रस्तुति दिएका थिए । विभिन्न चरण पार गर्दै प्रतिस्पर्धा अन्ततः शीर्ष ६ हुँदै विजेतासम्म पुगेको थियो ।
मिस वर्ल्डको ७४औँ संस्करण तान्जानियामा आयोजना हुने आयोजकले जनाएको छ ।
सान्तो डोमिङ्गोकी जोहेइरी मोला केवल सौन्दर्य प्रतियोगिताकी विजेता मात्र होइनन्, उनी शिक्षिका, पत्रकार तथा सामाजिक अभियन्ताका रूपमा पनि सक्रिय छिन् ।
उनले युनिभर्सिडाड इबेरो अमेरिकानाबाट बिजनेस म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसनमा स्नातक गरेकी छन् । शिक्षा उनको सामाजिक अभियानको मुख्य क्षेत्र हो । विद्यालयमा साहित्य र सामाजिक अध्ययन पढाउँदै आएकी उनले बालबालिका तथा युवाको क्षमता विकासका लागि विभिन्न सामुदायिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएकी छन् ।
युवालाई अंग्रेजी भाषाको ज्ञान तथा नयाँ अवसरमा पहुँच दिलाउने उद्देश्यले उनले ‘भ्वाइसेस अफ टुमरो’ नामक सामाजिक पहल सुरु गरेकी छन् । यसमार्फत बालबालिका तथा युवामा आत्मविश्वास बढाउने र भविष्यका लागि आवश्यक अवसर तथा स्रोतमा पहुँच विस्तार गर्ने उनको लक्ष्य छ ।




