‘गौंथली’लाई सातौँ हप्तामा पनि सुरुवाती शो

काठमाडौं । चलचित्र ‘गौंथली’ आठौँ हप्तामा प्रवेश गर्ने तयारीमा छन् । प्रदर्शनको सातौँ हप्तामा रहेको चलचित्र अहिले पनि उच्च शो सहित चलिरहेको छ ।

५१ औँ दिन मनाइसकेको चलचित्र अहिले पनि सुरुवाती शो झैँ प्रदर्शनरत छ । यसपछि रिलिज भएका अधिकांश सिनेमा उत्रिसकेको अवस्था र भोटेकोसी बाढीको प्रतिकूल समयमा पनि ‘गौँथली’ सुरुवातका दिन झैँ प्रदर्शन भइरहेको छ ।

‘गौँथली’ ५१ दिनमा प्रवेश गरेको दिन यो चलचित्र ४३ हलमा प्रदर्शनरत थियो । ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको थियो । अहिले पनि करिब करिब यही हल र शो संख्यामा सिनेमा प्रदर्शन भइरहेको निर्माता सुमन गिरीले बताएका छन् ।

हालसम्म २५ करोड ८६ लाख २८ हजार ६ सय १५ रुपैयाँ कलेक्सन गरिसकेको छ । भदौ २१ गते आइतबार रातीसम्मको अवधिमा ९ लाख ३० हजार ७ सय ४४ वटा टिकट बिक्री भएका छन् ।

नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बनिसकको ‘गौँथली’ ‘पूर्ण बहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र हो ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।