पछिल्लो सात दिनमा ‘मास्टर्नी’को कमाइ ६२ हजार, डेब्यू निर्माणमै प्रियंकालाई व्यवसायिक झट्का
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीका लागि निर्मात्रीको रूपमा पहिलो गाँसमै ढुङ्गा लागेको छ । उनले आफ्नै होमब्यानर ‘आयंका फिल्मस्’ बाट निर्माण गरेको पहिलो चलचित्र ‘मास्टर्नी’ बक्स अफिसमा नराम्रोसँग पछारिएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार भदौ ५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले १७ दिनको अवधिमा निकै कमजोर व्यापार गरेको छ ।
प्रियंका आफैँ शीर्ष भूमिकामा रहेको यस चलचित्रले घरेलु बक्स अफिसमा दर्शकको साथ पाउन सकेन । बोर्डको तथ्याङ्क अनुसार ‘मास्टर्नी’ले भदौ २१ गतेसम्म (प्रदर्शनको १७ दिनमा) कुल ४० लाख १५ हजार १ सय ९९ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ । यस अवधिमा चलचित्रका कुल १२ हजार १ सय ९७ वटा टिकट मात्र बिक्री भएका छन् ।
चलचित्रको व्यापारिक ग्राफ सुरुदेखि नै ओरालो लागेको देखिन्छ । भदौ १४ गते (दोस्रो आइतबार) सम्म ३९ लाख ५२ हजार ८ सय ५९ रुपैयाँ कमाएको यस चलचित्रले त्यसपछिको सात दिनमा जम्मा ६२ हजार ३४० रुपैयाँ मात्र थप गर्न सक्यो । यो तथ्याङ्कले चलचित्रप्रति दर्शकको रुची शून्यप्रायः रहेको पुष्टि गर्छ ।
सुभेन्दु घोषको निर्देशनमा तयार भएको यो चलचित्र अहिले हलहरूबाट लगभग उत्रिसकेको छ । हल प्रदर्शनबाट उठ्ने न्यून रकम र चलचित्रको निर्माण लागतलाई हेर्दा निर्माण पक्षलाई लगानी सुरक्षित गर्न निकै कठिन हुने देखिएको छ । अभिनेत्री कार्कीले यसै चलचित्रमार्फत निर्माणमा डेब्यू गरेकी थिइन्, तर पहिलो गाँसमै उनले व्यवसायिक धक्का व्यहोर्नु परेको छ ।
आयंका फिल्म्सको प्रस्तुति रहेको ‘मास्टर्नी’लाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
यो चलचित्रको कथा प्रियंका स्वयंले लेखेकी हुन् । पटकथा र संवादमा उनलाई शान बस्नेतले साथ दिएका छन् । चलचित्रमा युवराज इन्दोरियाको छायाङ्कन, राजा सिंह सिदुको सम्पादन र रोहित शाक्यको संगीत रहेको छ । त्रिशाला गुरुङको स्वर रहेको चलचित्रमा राजेन्द्र मोक्तानको कलर र मुकेश शाहको ध्वनि मिश्रण छ ।




