विकास सुवेदीको चलचित्र ‘शिरजरा’ टोकियोको प्रतिष्ठित चलचित्र बजारमा छनोट
काठमाडौं । निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा : द सङ अफ ग्रान्डमदर’ जापानको प्रतिष्ठित टोकियो चलचित्र ‘ग्याप फाइनान्सिङ मार्केट’ (लगानी तथा निर्माण बजार)मा छनोट भएको छ ।
विश्व प्रतिष्ठित कान्स, बर्लिन र भेनिस चलचित्र महोत्सवमा आफ्नो स्थान बनाइसकेका विख्यात चलचित्र निर्माताहरूको परियोजनासँगै ‘शिरजरा’ पनि उत्कृष्ट चौविसभित्र पर्न सफल भएको हो ।
जापानको टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने यस बजारमा संसारभरबाट परेका सयौँ आवेदनलाई उछिन्दै यो चलचित्र छनोट भएको हो ।
यो वर्ष विश्वभरका उत्कृष्ट चौविस परियोजनाको सूचीमा ‘शिरजरा’ नेपाल र भारतलगायत सम्पूर्ण दक्षिण एसियाबाटै छनोट हुने एकमात्र चलचित्र बनेको छ ।
यस वर्ष टोकियो बजारको औपचारिक सूचीमा नेपाली निर्देशक सुवेदीसँगै विश्व सिनेमाका कैयौँ ठूला हस्तीहरू एउटै मञ्चमा रहनेछन् । छनोट सूचीमा कान्स चलचित्र महोत्सवमा पुरस्कार जितेका सिंगापुरका प्रख्यात निर्देशक जुनफेङ बु, कान्स र भेनिसमा स्थापित कजाकिस्तानका दिग्गज निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता चलचित्र ुटाइगर स्ट्राइप्सुको निर्माण कम्पनी इन्डोनेसियाको कावानकावान मिडिया, भेनिस विजेता भियतनामी निर्देशक डिएप नुएन होआङ र बर्लिन महोत्सवमा प्रदर्शन भएका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजनाहरू रहेका छन् ।
किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको ‘शिरजरा’को कथावस्तु उच्च अवधारणामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको कथाअनुसार, मानवीय संवेदना र भावना बुझ्न सक्ने डिजिटल संवेदना प्रविधि विकास गर्न तल्लीन एक आधुनिक कृत्रिम बौद्धिकता विशेषज्ञ आफ्नी हजुरआमासँगै पुर्ख्यौली थलो नेपाल पुग्छिन् ।
पाँच हजार मिटरको उचाइमा पुगेपछि प्रकृतिको अगाडि आधुनिक प्रविधिको अहंकार कसरी निरिह बन्छ र आफूले खोजिरहेको मानवीय संवेदनाको तथ्यांक बाहिरी संसारमा नभएर आफ्नै पुर्खाको रगत र चेतनामा पहिलेदेखि नै सुरक्षित रहेको यथार्थ उनले कसरी बोध गर्छिन् भन्ने दार्शनिक तथा आध्यात्मिक यात्रालाई चलचित्रले प्रस्तुत गर्नेछ ।
यसअघि सन् २०२० मा निर्देशक मीनबहादुर भामको चलचित्र ‘शाम्बाला’ले पनि यही टोकियो बजारमा छनोट भएर उत्कृष्ट परियोजनाको पुरस्कार जितेको थियो । उक्त चलचित्रले पछि सन् २०२४ को प्रतिष्ठित बर्लिन चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धामा सहभागी भएर इतिहास रचेको थियो ।




