‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन पूरा, सिक्वेलमा छैनन् अशोक दर्जी
काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन पूरा भएको छ । भदौ ४ गतेबाट सुरु भएको चलचित्रको काठमाडौं चरणको छायांकन २४ दिनपछि सकिएको हो ।
भदौ ३ गते शुभमुहूर्त गर्दै छायांकन थालिएको चलचित्रको काठमाडौंको काम पूरा भएसँगै निर्माण टिम अब मुस्ताङतर्फ जाने तयारीमा जुटेको छ । केही दिनपछि मुस्ताङका विभिन्न स्थानमा चलचित्रका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
गतबर्ष रिलिजमा आएको ‘मन बिनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्सन गरेको थियो । पहिलो श्रृंखलाको सफलताले उत्साहित टंकले यसपटक दोस्रो श्रृंखलालाई अझै बलियो बनाउने बताएका छन् ।
तर, पहिलो भागका मुख्य कलाकार अशोक दर्जी भने दोस्रो सिक्वेलमा देखिने छैनन् । छायांकन पूरा भइसक्दा पनि निर्माण टिम यस विषयमा अझै बोलेको छैन ।
‘मन बिनाको धन-२’मा यसपटक कलाकारको लाइनअप भने फेरिएको छ । यसपटक चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, एआर बुढाथोकी लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहने छ ।
परिवार, सम्बन्ध र भावनात्मक कथावस्तुमा आधारित चलचित्रको कथा टंक बुढाथोकीले तयार पारेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीको छ ।
विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, मित्र डी. गुरुङको सम्पादन र रेनिश फागोको कलरिङ रहेको छ ।




