‘एलिफेन्ट्स इन द फग’ले १० दिनमा कति कमायो ?

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेर अन्तर्राष्ट्रिय चर्चामा आएको नेपाली चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपालमा प्रदर्शनको पहिलो १० दिनमा ८५ लाखभन्दा बढी ग्रस कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार भदौ १९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले भदौ २८ गतेसम्म ८५ लाख ९५ हजार ९१० रुपैयाँ ग्रस कमाएको हो । सो अवधिमा चलचित्रका २४ हजार ४८३ टिकट बिक्री भएका छन् ।

अहिले ‘एलिफेन्ट्स इन द फग’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । कान्समा प्राप्त अन्तर्राष्ट्रिय सम्मानसँगै नेपालबाट आगामी ९९औँ एकेडेमी अवार्ड अर्थात् अस्करका लागि छनोट भएपछि पनि चलचित्रप्रति दर्शकको चासो बढेको छ ।

अविनाशविक्रम शाह निर्देशित चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ । चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।

यसैबीच, ‘एलिफेन्ट्स इन द फग’ ९९औँ एकेडेमी अवार्डका लागि नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सिफारिस भइसकेको छ । द एकेडेमी अफ मोशन पिक्चर आट्र्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले यसलाई नेपालको आधिकारिक छनोटका रूपमा सिफारिस गरेको हो ।

यस वर्ष अस्करको प्रतिस्पर्धाका लागि समितिसमक्ष दुई नेपाली कथानक चलचित्रले आवेदन दिएका थिए । ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’सँगै ‘गौँथली’ले पनि आवेदन दिएको थियो । तर, दुईमध्ये समितिले ‘एलिफेन्ट्स इन द फग’लाई छनोट गर्दै नेपालबाट अस्करमा पठाउने निर्णय गरेको हो ।