आफ्नै माटोबाट प्रकाश दूतराजको नयाँ सांगीतिक यात्रा
काठमाडौं । त्यसदिन साँझ म्याग्दीको बेनी खुल्लामञ्चमा सिमसिम पानी परिरहेको थियो । मञ्चअगाडि मानिसहरूको भीड थियो । कोही छातामुनि थिए, कोही पानीमै रूझिरहेका थिए । तर, धेरैको ध्यान पानीतिर नभएर स्टेजमा थियो ।
कालीगण्डकी र म्याग्दी खोलाको संगममा आयोजित त्यो साँझ पर्खाइ थियो- प्रकाश दूतराजको ।
केहीबेरपछि प्रकाश स्टेजमा उक्लिए । संगीतसँगै बेनीको साँझ पनि विस्तारै तात्न थाल्यो । तर, त्यो साँझ प्रकाशका लागि एउटा अर्को कारणले पनि विशेष थियो । उनी आफ्नै ठाउँमा गीत गाउन मात्र आएका थिएनन्, आफ्नो लामो समयदेखिको एउटा सपना सार्वजनिक गर्न आएका थिए।
त्यहीँबाट औपचारिक घोषणा भयो लोकसंगीत ब्यान्ड– ‘दूतराज प्रकाश एन्ड लाइनअप’।
कुरा हो, गत शनिबार साँझको । त्यसदिन प्रकाशको कार्यक्रम उनको विगतका सोलो प्रस्तुतिजस्तो थिएन । यसपटक उनको स्वरलाई ब्याण्डका सदस्यका प्रत्यक्ष वाद्यवादनले साथ दिइरहेका थिए । मादल, गिटार, बाँसुरी, किबोर्ड, ड्रम्सलगायतका बाजाको धुनमा प्रकाशका सिर्जना नयाँ स्वरूपमा खुल्दै थिए ।
राति करिब ८ बजे सुरू भएको प्रस्तुति करिब डेढ घण्टासम्म चल्यो । ‘घर कता हो बैनीको’ बाट सुरु भएको सांगीतिक यात्रा ‘जाम भो माइली’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’ हुँदै ‘मनमाया’ सम्म पुगेर टुंगियो।
प्रकाशले गीत मात्र गाएनन्, गीत जन्मिनुको कथा पनि सुनाए । भ्याएसम्म आफ्ना सिर्जनाको थिम, त्यसमा जोडिएका अनुभूति र कथाहरू दर्शकसँग बाँड्दै गए । त्यसैले प्रस्तुति केवल गीतहरूको सिलसिला रहेन, प्रकाशको सांगीतिक यात्रालाई नजिकबाट बुझ्ने एउटा अवसर पनि बन्यो ।
त्यो साँझ बेनीमा एउटा कन्सर्ट भइरहेको थियो, तर त्यसको अर्थ कन्सर्टभन्दा धेरै ठूलो थियो । किनकि आफ्नै माटोमा हुर्किएको एउटा कलाकारले आफ्नो नयाँ सांगीतिक यात्राको पहिलो पाइला पनि त्यही माटोबाट चालिरहेको थियो ।
लोकगायक प्रकाश दूतराजले शनिबार आफ्नो गृहजिल्ला म्याग्दीको बेनीबाट ब्याण्डको औपचारिक घोषणा गर्दै पहिलो कन्सर्ट प्रस्तुत गरेका हुन् । आफू हुर्किएको र संगीतको बाटो रोजेको ठाउँबाटै उनले आफ्नो सांगीतिक यात्राको नयाँ अध्याय थालेका हुन् ।
उनले यसबारे भने, ‘करिब १४ वर्षअघि यहीँ पहिलोपटक स्टेजमा गीत गाउने अवसर पाएको थिएँ। त्यतिबेला पनि म्याग्दी उद्योग वाणिज्य संघकै आयोजनाको कार्यक्रम थियो। त्यसबेलादेखिकै सपना थियो– भोलिका दिनमा एउटा लोक ब्याण्ड बनाएर देशका विभिन्न ठाउँमा गएर प्रस्तुति दिने। अहिले त्यही सपना पूरा गर्ने यात्राको सुरूवात यहीँबाट गर्न पाउँदा भावनात्मक रूपमा पनि विशेष लागेको छ।’
प्रकाशका अनुसार ब्याण्डसँग काम गर्ने योजना भने ८–९ वर्षअघिदेखिकै हो । लामो समयदेखि मनमा रहेको योजनालाई अहिले औपचारिक रूपमा अघि बढाएको उनले बताए ।
प्रकाश भन्छन्, ‘मेरो करिअर, म आज जहाँ पुगेको छु र जति माया पाएको छु, त्यसमा यो ठाउँको ठूलो योगदान छ। त्यसैले ब्याण्डको कार्यक्रम पनि यहीँबाट सुरू गरें।’
कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको थियो । ब्याण्डको औपचारिक घोषणामा छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत दर्शक बेनी पुगेका थिए ।
कार्यक्रमका क्रममा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति तथा पर्वतारोही निर्मल पुर्जाको निधनप्रति शोकसमेत व्यक्त गरिएको थियो ।
अब ‘दूतराज प्रकाश एन्ड लाइनअप’ ले नेपालका विभिन्न सहरसँगै विदेशमा समेत कन्सर्ट गर्ने तयारी गरेको ब्याण्ड म्यानेजर धिरज गुरूङले बताए । उनका अनुसार स्वदेशमा केही कन्सर्ट यसअघि नै तय भइसकेका छन् ।
‘दूतराज प्रकाश एन्ड लाइनअप’ मा वाद्यवादक तथा प्राविधिकसहित १२ जना सदस्य छन् । प्रकाश लिड भोकलमा छन् ।
नेपाली मौलिक बाजालाई प्रवद्र्धन गर्दै त्यसको धुन संसारभर पु¥याउने आफ्नो उद्देश्य रहेको प्रकाशले बताएका छन् ।




