दयाहाङले सुरु गरे नयाँ चलचित्रको छायांकन

काठमाडौं ।  गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परा, सामाजिक जीवन र जीवनशैलीलाई कथाको केन्द्रमा राखेर नयाँ नेपाली चलचित्र ‘बुकी फूल’ निर्माण हुने भएको छ । चलचित्रको कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार शुभमुहूर्त गरिएको छ ।

बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको चलचित्रले गुरुङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई सिनेमाको माध्यमबाट प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा समुदायले पुस्तौँदेखि जोगाउँदै आएको संस्कृति, परम्परा, सामाजिक परिवेश र जीवनदर्शनलाई कथानकसँग जोडेर पर्दामा उतार्ने प्रयास गरिने बताइएको छ ।

चलचित्रको अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिने भएको छ । प्राकृतिक सुन्दरता, मौलिक बस्ती, स्थानीय जीवनशैली तथा सांस्कृतिक परिवेशका कारण सिक्लेसलाई चलचित्रको प्रमुख छायांकनस्थलका रूपमा छनोट गरिएको हो ।

‘बुकी फूल’को शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, चलचित्रका कलाकार, स्थानीयवासी तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

चलचित्रमा नेपाली चलचित्रका चर्चित अभिनेता दयाहाङ राईसँगै संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ र स्वयं परिकल्पनाकार तथा निर्माता बेदबहादुर गुरुङ ‘श्याम’लगायत कलाकारको अभिनय रहनेछ ।

शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ गुरुङ समुदायको इतिहास, संस्कृति र सामाजिक जीवनलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास बन्न सक्ने बताए । नेपाली चलचित्रमा पछिल्लो समय विषयवस्तु र प्रस्तुतिको दृष्टिले विविधता बढ्दै गएको उल्लेख गर्दै उनले मौलिक कथा र स्थानीय परिवेशलाई चलचित्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

चलचित्रका परिकल्पनाकार तथा निर्माता बेदबहादुर गुरुङ ‘श्याम’ले आफ्ना बाबुबाजे तथा अग्रजहरूबाट सुन्दै आएका कथा, समुदायका भोगाइ र इतिहासलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्र निर्माण गर्न लागेको बताए ।

उनका अनुसार गुरुङ समुदायको इतिहास र संस्कृतिसँग जोडिएका धेरै कथा तथा मौखिक इतिहासहरू पुस्तान्तरण हुँदै आएका छन्। तीमध्ये महत्वपूर्ण पक्षलाई चलचित्रमार्फत दृश्यरूपमा प्रस्तुत गर्दै भावी पुस्ताका लागि समेत सुरक्षित राख्ने उद्देश्य ‘बुकी फूल’को रहेको छ ।

‘बुकी फूल’मा गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परा, सामाजिक सम्बन्ध, जीवनशैली तथा स्थानीय परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिने निर्माता गुरुङले बताए ।

निर्देशक ओमप्रकाश गुरुङले चलचित्रको कथावस्तु ऐतिहासिक परिवेशसँग जोडिएकाले यसको मौलिकता र सांस्कृतिक पक्षलाई विशेष प्राथमिकता दिइने बताए । स्थानीय संस्कार, रहनसहन, बोलीचाली र जीवनशैलीलाई सकेसम्म यथार्थपरक रूपमा पर्दामा प्रस्तुत गर्ने उनको भनाइ छ ।

चलचित्रको छायांकन सुसन प्रजापतिले गर्नेछन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन करिब ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

चलचित्रको कथा र प्रस्तुति गुरुङ समुदायको मौलिक जीवनसँग नजिक रहने भएकाले छायांकनका क्रममा स्थानीय परिवेश र समुदायको सहभागितालाई समेत महत्व दिइने जनाइएको छ ।

सिक्लेसको प्राकृतिक सौन्दर्यलाई पृष्ठभूमिमा राख्दै त्यहाँको सामाजिक तथा सांस्कृतिक जीवनलाई समेत पर्दामा उतार्ने तयारीमा रहेको ‘बुकी फूल’ले गुरुङ समुदायको मौलिक पहिचान र इतिहासलाई सिनेमाको माध्यमबाट दस्तावेजीकरण गर्ने लक्ष्य लिएको निर्माण पक्षको भनाइ छ ।

चलचित्रको निर्माणसँगै गुरुङ समुदायको कथा, संस्कृति र इतिहासलाई नेपाली चलचित्रको मूलधारमा थप फराकिलो ढंगले प्रस्तुत गर्ने प्रयासका रूपमा ‘बुकी फूल’लाई हेरिएको छ । चलचित्रको छायांकन तथा अन्य प्राविधिक काम सम्पन्न भएपछि प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ ।