गायकलाई नायक बनाउने निर्देशक
काठमाडौं । एउटा निर्देशक, जसले अहिलेसम्म पर्दामा नायक खोज्दा स्थापित अभिनेतातिरभन्दा माइक्रोफोन समातेका गायकतिर नजर लगाए । संयोग मात्रै हो या कुनै सोचिएको यात्रा ? अनि को होला त्यो निर्देशक, जो नायकका पछि लागेन । बरु गायकलाई नायक बनाउनेतिर लागे ?
निर्देशक तथा लेखक नारायण रायमाझीले हालै आफ्नो नयाँ फिल्म ‘बसन्ती’को घोषणा गरे । यो चलचित्रबाट लोकगायक खेम सेन्चुरीले नायकका रूपमा सिनेमा यात्रा सुरु गर्दैछन् । खेमको डेब्युको खबर आफैँमा रोचक छ । तर, ‘बसन्ती’सँगै जोडिएको अर्को पक्ष अझ रोचक छ, रायमाझीले नायक बनाएका सबै अनुहार गायन क्षेत्रबाट आएका छन् ।
रायमाझी निर्देशित पहिलो फिल्म ‘गोर्खापल्टन’बाट इन्डियन आइडल समेत रहेका प्रशान्त तामाङले नायकका रूपमा डेब्यु गरेका थिए । त्यसपछि रायमाझीले नै निर्देशन गरेको ‘परदेशी’मा पनि प्रशान्त नै मुख्य भूमिकामा देखिए ।
पर्दामा गायकलाई नायक बनाउने रायमाझीको यात्राले नयाँ अनुहार पायो । २०८० सालमा रिलिज भएको ‘परदेशी २’बाट गायक प्रकाश सपूतले नायकका रूपमा डेब्यु गरे ।
उनी यतिमा मात्रै रोकिएनन्, रायमाझीको चौथो निर्देशकीय फिल्म ‘बसन्ती’मा लोकगायक खेम सेन्चुरी नायक बनेर पर्दामा आउँदैछन् ।
गायकलाई नायक बनाउने रायमाझीको यो रोजाइ संयोग मात्रै हो ? गीतकारसमेत रहेका रायमाझीको गीतसंगीतसँगको निकटता त देखिएकै छ । तर, उनको निर्देशन यात्रालाई हेर्दा एउटा अर्को कुरा पनि देखिन्छ ।
उनले पर्दामा ल्याएका गायकहरू केवल गायक भएर सीमित रहेनन् । प्रशान्त तामाङ र प्रकाश सपूत दुवैले दर्शकमाझ नायकको पहिचान समेत बनाए ।
व्यावसायिक हिसाबले पनि रायमाझीका यी तीनै फिल्म सफल मानिन्छन् । त्यसैले अब उनको चौथो फिल्मले भन्दा पनि चौथो नायकले बढी कौतुहलता जगाएको छ ।
प्रशान्तपछि प्रकाश आए । दुवैले पर्दामा आफ्नो स्थान बनाए । अब पालो खेमको । तर, के गायकबाट नायक बनेका खेमले पनि प्रशान्त र प्रकाशकै यात्रा पछ्याउलान् ? के उनको अभिनयलाई दर्शकले त्यही रूपमा स्वीकार गर्लान् ?
रायमाझीले गायकलाई नायक बनाउने यो ‘क्रम’मा खेम तेस्रो सफल नाम बन्नेछन् ? यी प्रश्नको जवाफ भने ‘बसन्ती’ पर्दामा आएपछि मात्रै मिल्नेछ । तर, नारायण रायमाझीले गायकहरुलाई नायक बनाएर एकातिर नायकमा विकल्प दिइरहेका छन् भने नायक बन्ने शोख भएका गायकहरुको रहर पनि पूरा गरिदिइरहेका छन् ।




