तीन करोड नाघ्यो ‘पेन्सन पट्टा’को कमाई

काठमाडौं ।  अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ले सुखद् व्यापार गरेको छ ।

भदौ २६ गते रिलिज भएको सिनेमाले प्रदर्शनको १० दिनमा घरेलु बक्सअफिसमा तीन करोड रूपैयाँको आँकडा पार गरेको हो ।

चलचित्रको आइतबार (हिजो)सम्ममा ३ करोड ७९ लाख ७६ हजार ७४ रूपैयाँ ग्रस कमाइ पुगेको छ ।

उक्त कमाइ हुँदा चलचित्रका १ लाख २९ हजार १ सय १८ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

दोस्रो हप्तामा चलिरहेको ‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ । यसअघि माओत्सेको निर्देशन रहेको ‘दयारानी’ पनि बक्स अफिसमा सफल भएको थियो ।