‘द राइज अफ साम्राज्य’मा ६ वर्षपछि सहकार्य गर्दै सौरभ र सुशील
काठमाडौं । निर्देशक सौरभ चौधरीको चलचित्र ‘द राइज अफ साम्राज्य’मा सुशिल श्रेष्ठको प्रवेश भएको छ । छायाकंनको अन्तिम तयारीमा रहेको यस सिनेमामा निर्देशक चौधरीले उनलाई अनुबन्ध गराएका हुन् ।
यसअघि यो चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।
निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ । यो चलचित्र मल्टिस्टार बन्ने भएको छ । छायाकंनको अन्तिम तयारी हुँदै गर्दा सुशिलको प्रवेश भएको छ ।
सौरभ र सुशीलले यसअघि चलचित्र ‘लभ डायरीज’ मा सहकार्य गरेका थिए । सौरभको यो पहिलो निर्देशन रहेको थियो ।
करिब ६ वर्षपछि पुनः सहकार्य गर्न लागेका हुन् । चलचित्रको मुख्यमध्ये एक भूमिकामा सुशील रहेको सौरभले बताए ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘एपिक एक्सन ड्रामा’ चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् ।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा सिनेमा बनाउने योजनामा छन् । यो नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।




