‘छ माया छपक्कै २’को गीतमा खुसी र अन्तरघात
काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ‘छ माया छपक्कै’ बोलको गीतमा स्वर करण परियार, अवि सुनार र रश्मी विश्वकर्माको छ । शब्द तथा संगीत अवि सुनारको छ ।
गीतमा परिवारको सुखमा सन्तानको आगमनले दिन लागेको खुसी समेटिएको छ । त्यही बेला आउने सरप्राइजले अचानम थपिएको शंका र तनाव गीत र यसको भिडियोमा छ ।
सुखी परिवारमा भित्रभित्रै भइरहेको छलकपट र घात र त्यसले दिने तनाव गीतमा देखिन्छ ।
गीतको भिडियोमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई लगायतका कलाकार छन् ।
‘छ माया छपक्कै–२’ असोज ३१ गते रिलिज हुँदै छ । ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । रोहित अधिकारी यो चलचित्रको निर्माता हुन् ।




