अन्तिम चरणमा पुगेको ‘शुभ विवाह’को छायांकन स्थगित
काठमाडौं । चलचित्र ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ ।
निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको यो सिनेमाको लगातार भइरहेको भारी वर्षा तथा प्रतिकूल मौसमका कारण छायांकन रोकिएको हो ।
निर्माण पक्षले विज्ञप्ति जारी गर्दै मौसममा आएको खराबी तथा सरकारले जारी गरेको उच्च सतर्कतासम्बन्धी सूचनालाई मध्यनजर गर्दै असोज ९, १० र ११ गतेका लागि छायांकन स्थगित गरिएको जनाएको छ ।
कलाकार तथा प्राविधिक टोलीको जीउधनको सुरक्षा र सहजतालाई पहिलो प्राथमिकतामा राख्दै तत्कालका लागि छायांकन रोकिएको निर्माण पक्षको भनाइ छ ।
निर्माता सुप्रिया कटुवालद्वारा जारी विज्ञप्तिमा प्रतिकूल मौसमका कारण उत्पन्न परिस्थितिमा सम्पूर्ण नेपालीलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ । सुरक्षा नै पहिलो प्राथमिकता हो ।’
४५ दिनको छायांकन सेड्युलसहित पोखराबाट सुटिङ सुरु गरिएको ‘शुभ विवाह’ अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्देशक थापाका अनुसार गीतका दृश्यबाहेक फिल्मका अधिकांश दृश्यको छायांकन पूरा भइसकेको छ ।
अब चलचित्र का बाँकी गीतहरूको छायांकन मात्रै मुख्य रूपमा बाँकी रहेको निर्माण टिमले जनाएको छ । मौसमले साथ दिएमा बाँकी गीतको सुटिङसमेत करिब १० दिनभित्र सम्पन्न गर्ने तयारीमा निर्माण पक्ष छ ।
‘शुभ विवाह’लाई अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाको लामो समयपछिको सहकार्यका कारण पनि विशेष चासोका साथ हेरिएको छ । चलचित्र ‘प्रेम गीत’पछि सुदर्शन र प्रदीपले लामो समयपछि ‘शुभ विवाह’मार्फत पुनः सहकार्य गरेका हुन् ।
रोमान्टिक कथावस्तुमा आधारित यस चलचित्रमा प्रदीप खड्कासँगै सनिशा भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रमा प्रेम, सम्बन्ध र विवाहलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
प्रदीप र सनिशासँगै चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन् । प्रदीप श्रीवास्तवको कथा रहेको चलचित्रको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन् ।
राजेश श्रेष्ठ डीओपी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत र मिलन श्रेष्ठको सम्पादन रहनेछ । त्यस्तै, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वारको नृत्य निर्देशन, सुशीला के.सी. र आकृति पन्तको ड्रेस डिजाइन तथा साहिल खानको ट्रेलर सम्पादन रहनेछ ।
आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने भीष्म फिल्म्स् र श्री राम बालाजीले वितरण गर्ने भएका छन् ।




