‘हाम्रो सानो घर’मा ‘आचार्य’की नायिका पूर्णिका सिजापति मुख्य अभिनेत्रीमा अनुबन्ध

काठमाडौं । नेपाली चलचित्र ‘हाम्रो सानो घर’मा अभिनेत्री पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन् । निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा बन्न लागेको चलचित्रमा पूर्णिकाको प्रवेशसँगै निर्माण पक्षले कलाकार छनोटलाई थप गति दिएको छ ।

पूर्णिका सिजापति नेपाली मोडलिङ क्षेत्रमा परिचित नाम हुन् । कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन् । त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत हासिल गरेकी छन् ।

मोडलिङ तथा कन्टेन्ट क्रिएसनमा सक्रिय पूर्णिकाले विभिन्न फेसन तथा ब्रान्डसँग काम गर्दै आएकी छन् । पछिल्लो समय उनी नेपाली चलचित्रमा समेत प्रवेश गरेकी हुन् ।

उनी ‘आचार्य’ चलचित्रमा कलाकारका रूपमा देखिँदैछिन्, जहाँ उनले नेपालीसँगै बलिउड तथा दक्षिण भारतीय कलाकारहरूसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन् ।

अब भने पूर्णिका ‘हाम्रो सानो घर’ मा मुख्य भूमिकामा देखिने भएकी छन् । चलचित्रको कथा, पटकथा तथा निर्देशन सुमन गजमेरको रहनेछ ।

समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेडको प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच र जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘हाम्रो सानो घर’ लाई प्रेमकथामार्फत सामाजिक विषयसमेत प्रस्तुत गर्ने चलचित्रका रूपमा निर्माण पक्षले अघि बढाएको छ ।

चलचित्रले प्रेमसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई कथामा समेट्ने बताइएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोली छनोटको कामसमेत अन्तिम चरणमा पुगेको छ । मुख्य पुरुष कलाकारको नाम भने केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन दशैंपछि फ्लोरमा जाने तयारी भइरहेको छ । मुख्य पुरुष कलाकारको औपचारिक घोषणा गरेपछि चलचित्रको निर्माणसम्बन्धी थप जानकारी सार्वजनिक गरिने बताइएको छ ।