‘आ बाट आमा २’को बाँकी छायांकनका लागि पल गए हङकङ
काठमाडौं । दशैँको छेको पारेर असोज ३० मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ ।
चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङ तथा प्राविधिक टोली हङकङ पुगेको छ ।
हङकङमा हुने सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ । हङकङका विभिन्न रमणीय स्थानमा फिल्मका मुख्य दृश्यहरू खिचिने निर्माण पक्षले जनाएको छ ।
नेपालमा अधिकांश पारिवारिक र भावनात्मक दृश्यहरूको छायांकन सकिएपछि कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न निर्माण टिमले हङकङको सेड्युल तय गरेको हो ।
निर्देशक चन्द्र पन्तका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङ जोडिएका केही विशेष ड्रामेटिक दृश्यहरू खिचिनेछ ।
चाडपर्वको समयमा गाउँमा आमाले गर्ने पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्ने बाध्यताबीचको भावनात्मक अन्तरसम्बन्धलाई चलचित्रको मुख्य मेरुदण्ड बनाइएको छ ।
हङकङको यो अन्तिम छायांकनले कथाको त्यही प्रवासी आयामलाई अझ प्रामाणिक र भव्य बनाउने निर्देशक पन्तले बताएका छन् ।
चलचित्रमा पल शाह र रिश्ता गुरुङका साथमा विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको यो चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ ।





