दाङबाट सुरु भयो पुष्प–प्रशंसाको ‘सिन्दूर’
काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘सिन्दूर’को छायांकन सुरु भएको छ ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको हो ।
कस्तुरी प्रोडक्सन प्रा लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा।लिको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा सञ्जीव सार्कीको लगानी रहनेछ । दिनेश सिंह महरा कार्यकारी निर्माता रहेको ‘सिन्दूर’को निर्माण प्रमुखमा प्रकाश हमाल छन् ।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको ‘सिन्दूर’ले महिलाको जीवनमा सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई कथाको केन्द्रमा राख्ने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा पुष्प र प्रशंसाको जोडीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । उनीहरूबीचको सम्बन्ध र कथाले लिने उतारचढाव चलचित्रको महत्वपूर्ण पक्ष हुने बताइएको छ ।
संकल्प भुजेलले छायांकन गर्ने चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । करणबहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा जोडिएका छन् ।
निर्माणपक्षले चलचित्रको छायांकनका लागि एक महिनाको सेड्युल तय गरेको छ । दाङबाट सुरु भएको छायांकन विभिन्न स्थानमा गरिनेछ ।





