‘१२ गाउँ-२’को ‘रेशमी रुमाल’मा विराज-वर्षाको प्रेमिल अवतार

काठमाडौं । एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला ‘१२ गाउँ–२’ले अब आफ्नो प्रेमिल पाटो पनि देखाउन थालेको छ । फिल्मको तेस्रो गीत ‘रेशमी रुमाल’ सार्वजनिक भएसँगै निर्माण टिमले फिल्ममा एक्सनसँगै प्रेम र रोमान्सलाई पनि प्राथमिकता दिएको संकेत गरेको छ ।

बुधबार सार्वजनिक गरिएको गीतमा अभिनेता विराज भट्ट र नवअभिनेत्री वर्षा इटानीलाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको छ । यसअघि एक्सन अवतार र द्वन्द्वप्रधान दृश्यका कारण चर्चामा रहेको फिल्ममा विराज र वर्षाको जोडीले दर्शकको ध्यान तान्ने प्रयास गरेको देखिन्छ । वर्षाले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् ।

‘रेशमी रुमाल’मा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । डीपी खनालले गीतका प्रेमिल शब्द लेखेका छन् भने देवेन्द्र बरालले संगीत दिएका छन् । गीतको म्युजिक प्रोडक्सन उदयराज पौडेलले गरेका हुन् ।

गीतमा नेपाली मौलिक स्वाद झल्काउने धुन र बाजाहरूको प्रयोग गरिएको छ । मादल, बाँसुरी, सारंगी, गिटार तथा पञ्चेबाजाको प्रयोगले गीतलाई आधुनिक प्रेमगीतसँगै नेपालीपनको स्वाद दिने प्रयास गरिएको छ ।

भिडियोमा विराज र वर्षाबीचको प्रेम, आत्मीयता र रोमान्सलाई केन्द्रमा राखिएको छ । यसअघि फिल्मका प्रचार सामग्रीमा विराजलाई एक्सन अवतारमा बढी देखाइएको भए पनि ‘रेशमी रुमाल’ले उनको फरक पक्षलाई दर्शकमाझ ल्याएको छ ।

गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन् । गीतको कलरिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

‘१२ गाउँ २’लाई स्वयं विराज भट्टले निर्देशन गरेका हुन् । सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा विराजसँगै समीर भट्ट, अनुपविक्रम शाही, सुनील पोखरेल, प्रकाश शाह, खुशी कार्की, कालु राना, सुधीर श्रेष्ठ, पुष्कर भट्ट, राज हमाललगायत कलाकारको अभिनय छ । कृषु शाही र वर्षा इटानीलाई फिल्ममा नयाँ अनुहारका रूपमा प्रस्तुत गरिएको छ ।

फिल्मको एक्सन पक्षमा स्टन्ट सिल्भा र शंकर महर्जनको काम छ भने छायांकन महेश पौडेलले गरेका छन् । बन्दे प्रसाद सम्पादनमा छन् र ब्याकग्राउन्ड स्कोर कालाचरणले तयार पारेका हुन् । फिल्म विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

तीन वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’को सफलतापछि यसको दोस्रो श्रृंखलालाई लिएर दर्शकमाझ सुरुदेखि नै चासो छ । विशेषगरी विराज भट्टसँगै उनका छोरा समीर भट्ट फिल्ममा रहेकाले ‘१२ गाउँ–२’लाई परिवार र नयाँ पुस्ताको संयोजनका रूपमा समेत हेरिएको छ।

दशैंको अवसरमा असोज ३० गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘१२ गाउँ–२’ को वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।