‘भाग्यले होकी’मा भावुक देखिए न्यान्सी, सुशील र रिस्ता

काठमाडौं । प्रदर्शनको तीन दिनअघि चलचित्र ‘अक्षरा’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको निर्माण टिमले बुधबार ‘भाग्यले होकी’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई भावुक अवस्थामा प्रस्तुत गरिएको छ । विशेषगरी न्यान्सीको चरित्र गीतमा निकै पीडादायी देखिन्छ । ‘भाग्यले होकी मलाई जिन्दगीले ढाँट्यो’ भन्दै उनी निराश र भावुक देखिएकी छन् ।

गीतमा सुशील र रिस्तालाई पनि पीडामा देखाइएको छ । तीन पात्रबीचको सम्बन्ध, उनीहरूले भोगिरहेको परिस्थिति र गीतले संकेत गरेको भावनात्मक उतारचढावले फिल्मको कथालाई लिएर दर्शकमा कौतुहलता बढाउने देखिन्छ । यद्यपि, गीतमा देखाइएको पीडाको वास्तविक कारण र यी पात्रबीचको सम्बन्ध के हो भन्ने कुरा भने फिल्म हेरेपछि मात्रै खुल्नेछ ।

‘भाग्यले होकी’मा लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्दमा कर्णराज गिरीले संगीत दिएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

असोज २३ गतेदेखि प्रदर्शनमा आउने ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ । चलचित्रमा बालकलाकार रोनक खड्का र प्रीसा ढुंगानाले पनि अभिनय गरेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् । सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन् भने सोनी थापा (ढुंगाना) प्रस्तुतकर्ता हुन् ।

चलचित्रको कथा निर्माता उग्रसेन ढुंगानाले नै लेखेका हुन् । पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन् । चलचित्रलाई दिपेन बस्न्यातले छायांकन गरेका हुन् भने सम्पादन गौतम खड्काले गरेका छन् ।

चलचित्रको नेपाल वितरणको जिम्मेवारी नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन् ।