खगेन्द्र-सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’
काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले गुपचुप रुपमै चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सक्काउन लागेका छन् । घोषणा नगरी सुरु भएको यो चलचित्र अहिले छायांकनको अन्तिम चरणमा छ ।
काठमाडौंका विभिन्न स्थानमा यो चलचित्रको छायांकन भइरहेको छ । अबको एक हप्तामा यो चलचित्रको छायांकन सकिने निर्देशक खनालले जानकारी दिएका छन् ।
‘श्रीमान् श्रीमती’ पारिवारिक कथा हो । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् ।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । यस चलचित्रको लेखन पनि खनाल स्वयं गरेका छन् । चलचित्रको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । चलचित्रको छायांकन कृष्ण बा. थापाले गरिरहेका छन् ।
गम्भीर कथावस्तु उठान गर्ने निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले चलचित्र पूर्ण पारिवारिक हुने बताए ।
“दर्शकले मन पराउने मिठो कथामा सिनेमा बन्दैछ । आशा छ, दर्शकले मन पराउनु हुनेछ,” उनले भने, “हामीले इमान्दार भएर सिनेमा बनाउने हो, पक्कै पनि इमान्दार बनेर बनाइएको सिनेमा दर्शकको रोजाइमा पर्छ ।”
निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । छायांकन सकिएपछि पोस्ट प्रोडक्सनको काम अघि बढ्नेछ ।
निर्देशक खनालको यसअघि पछिल्लो समय रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ हो । तर, त्यसपछि पनि उनले चलचित्र ‘क्याप्टेन साब’को छायांकन भने गरिसकेका छन् । रिलिज हुन भने बाँकी छ ।





