बक्स अफिसमा ‘बाः एक योद्धा’को कमाइ ३ करोड नाघ्यो, ‘आचार्य’ कति अगाडि बढ्यो?
काठमाडौं । असोज ९ गतेदेखि एकसाथ प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बाः एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’को बक्स अफिस प्रदर्शन सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार असोज २५ गते आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार कमाइका हिसाबले ‘बाः एक योद्धा’ले अन्य दुई चलचित्रलाई पछाडि पारेको छ ।
हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले पछिल्लो साता ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको विवरणमा उल्लेख छ । यसअघि असोज १८ गतेसम्म चलचित्रले १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कमाएको थियो । पछिल्लो विवरणअनुसार चलचित्रको कमाइमा उल्लेख्य वृद्धि देखिएको छ ।
चलचित्रका हालसम्म १ लाख ७ हजार ५३३ वटा टिकट बिक्री भएका छन् । पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, सागर खनाल, अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ । पारिवारिक सम्बन्ध र भावनात्मक कथावस्तुलाई केन्द्रमा राखिएको चलचित्रले बक्स अफिसमा कस्तो यात्रा तय गर्छ भन्ने चासो बढेको छ ।
अभिनेता निखिल उप्रेतीको निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र ‘आचार्य’ले पनि पछिल्लो साता आफ्नो कमाइ बढाएको छ । चलचित्र विकास बोर्डको विवरणअनुसार फिल्मले असोज २५ गतेसम्म १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
अघिल्लो साता अर्थात् असोज १८ गतेसम्म चलचित्रले १ करोड ५६ लाख ६७ हजार ५४६ रुपैयाँ ग्रस कमाएको थियो । यसरी पछिल्लो विवरणमा फिल्मको कुल कमाइमा देखिएको छ । चलचित्रका हालसम्म ५६ हजार १९९ वटा टिकट बिक्री भएका छन् ।
एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायत कलाकारले अभिनय गरेका छन् । पूर्णिका सिजापतीले यही चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । लामो समयपछि ठूलो पर्दामा फर्किएका निखिलका लागि पनि ‘आचार्य’लाई कमब्याक चलचित्रका रूपमा हेरिएको छ ।
असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘जदौ’को भने पछिल्लो साताको बक्स अफिस विवरण सार्वजनिक भएको छैन । असोज १८ गतेसम्मको विवरणअनुसार चलचित्रले १३ लाख ९८ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । उक्त अवधिसम्म चलचित्रका ३ हजार ८६७ वटा टिकट बिक्री भएका थिए ।
अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो । प्रेम, जातीय विभेद, अन्तरजातीय सम्बन्ध तथा पारिवारिक द्वन्द्वलाई कथाको केन्द्रमा राखिएको फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, राजश्री थापालगायत कलाकारको अभिनय छ।
सार्वजनिक विवरणलाई हेर्दा ‘बाः एक योद्धा’ले कुल ग्रस कमाइ र टिकट बिक्री दुवैमा अग्रता कायम गरेको छ । ‘आचार्य’ दोस्रो स्थानमा रहँदा ‘जदौ’को पछिल्लो साताको विवरण उपलब्ध छैन । यो चलचित्र अघिल्लो साता नै हलबाट उत्रिएसँगै बक्सअफिस रिपोर्ट नआएको हो ।
असोज ९ गते एकसाथ प्रदर्शनमा आएका यी तीन चलचित्रको बक्स अफिस यात्रामा दर्शकको प्रतिक्रिया, प्रदर्शनको निरन्तरता र हलमा उपलब्ध शोले प्रभाव पार्ने देखिन्छ । आगामी दिनमा यी चलचित्रले कस्तो व्यापार गर्छन् भन्ने कुरा भने आगामी बक्स अफिस विवरणले स्पष्ट पार्नेछ ।


