‘आ बाट आमा २’को ट्रेलरमा दर्शकको भावनात्मक पक्षलाई छुने प्रयास

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आज सार्वजनिक गरेको ट्रेलरमा सिनेमाका मुख्य सबै पात्र अटाएका छन् ।

ट्रेलरमा प्रेम, संघर्ष, बियोग, शंका र बिछिप्तता समावेश छ । आमाले छोराहरूलाई गर्ने माया र छोराहरूले आमालाई गर्ने माया र वियोगको सेरोफेरोमा ट्रेलर केन्द्रित छ ।

ट्रेलरले दर्शकको भावनात्मक पक्षलाई छुने प्रयास गरेको छ । बियोगान्त कथा मन पराउने दर्शकलाई लक्षित गरेर सिनेमा निर्माण भएको ट्रेलरले प्रस्ट पारेको छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् ।

करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।